काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा स्पेन भ्रमणमा गएकाहरूको बारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य प्रतिनिधिहरूका बारेमा निष्पक्षरूपमा छानबिन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सहभागी गराउने नाममा बिचौलियाको एक समूहले विभिन्न गैरसरकारी संस्थाको नाममा असम्बन्धित व्यक्तिबाट ठूलो रकम असुलेर भिजिट भिसामा स्पेन लगेको पाइएपछि गृहमन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् । गृह मन्त्रालयमा भएको बैठकमा गृहसचिव दवाडी, आईजीपी थापासहित सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचविखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहभागी थिए ।
‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को–को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने, ‘स्पेन जान भिजिट भिसाको प्रबन्ध कसले ग¥यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’ उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानब बेचविखन अनुसन्धान ब्युरो खटिनेछ । सो कार्यका लागि प्रहरीलाई अध्यागमनले सहयोग गर्नेछ । यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्रीसँगको भेटमा प्रहरी महानिरीक्षक थापाले सीआईबी र त्यसअन्तर्गत रहेको मानवबेचविखन अनुसन्धान ब्युरोले यो मामिलामा जानकारी संकलन गर्ने काम सुरु गरिसकेको ब्रिफिङ गरेका थिए । स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाइसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरू विदेश पठाएको हुन सक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने प्रहरीको तयारी छ । त्यसबेला गएका सबै व्यक्तिहरू फर्किए नफर्किएको जाँच गरी उनीहरूलाई पठाउने गिरोहबारे समेत अनुसन्धान गरी कारबाही गरिने जनाइएको छ ।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए । सो कार्यक्रममा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै बिचौलिया समूहले असम्बन्धित व्यक्तिहरूको नाम वेबसाइटमार्फत रजिस्ट्रेसन गराएको थियो । सोमध्ये निम्तो आएकाहरूले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए । तर भिसा लिएकाहरूको पृष्ठभूमि शंकास्पद देखिएपछि दूतावासले ५५ जनाको सूची सम्बन्धित एयरलाइन्सका कर्मचारीहरूलाई पठाएर स्पेन जानबाट रोकेको थियो ।