काठमाडौ । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन एक सय एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार हुने भएको छ । जहाँ दुई सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) स्थापनाको शतवार्षिकीको अवसरमा हिमालयन एक सय आयोजना गरिएको थियो, जहाँ एक सय खेलाडी सहभागी थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत गिनिज वर्ल्ड रेकड्र्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन एक सय एक्स टु’ सञ्चालन गर्न लागिएको हो । हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बुका अनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । ‘पहिलो संस्करणमा एक सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि दुई सय खेलाडी खेल्दैछन्’, एकेडेमीकी अध्यक्ष खम्बुले भनिन्, ‘यो संख्याले नेपालमा सबैभन्दा बढी खेलाडी सहभागी हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’
त्रिपुरेश्वरस्थित बोगनभिल्लामा हुने प्रतियोगितामा खुलातर्फका विजेताले १० हजार रुपैयाँ, उपविजेताले सात हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउने छन् । खुलातर्फ उत्कृष्ट १०, यु १५ मा शीर्ष सातसहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा खुला, यु १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७ सय मुनि, १५ सय मुनि, अनरेटेड, यु १३, यु ११, यु ९, यु ७ र बेस्ट एचसिए स्पर्धा समावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा गर्ल्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ । गत २०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको यो आठौँ प्रतियोगिता हो ।
चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी पाँच वटा कोर्समा एक सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।