विराटनगर — कानुनी स्वीकृति नलिई तराईका जिल्लामा चिसो जारमा प्रशोधित पानी उत्पादन र बिक्री व्यापक भइरहेको छ। निर्देशिकाले स्पष्ट रूपमा प्रतिबन्ध लगाएको यस्तो पानी बजारमा निर्बाध रूपमा पाइँदा नियामक निकाय मौन बसिरहेको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका अनुसार यस्ता जारमा न सिलप्याक हुन्छ, न सफा गर्न मिल्ने प्रविधि। स्वचालित प्रणाली नहुँदा यस्ता जारमा ढुसी, लेउ, मिसावट हुने खतरा उच्च रहेको विज्ञहरू बताउँछन्। तर, कोशी प्रदेशका १६८ मध्ये झापा, मोरङ र सुनसरीका कैयौँ उद्योगले चिसो जार पानी बेचिरहेका छन्। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भए पनि न स्वीकृति दिइन्छ, न कारबाही गरिन्छ। नियम उल्लंघन गर्दै बिक्री भइरहेको यस्तो पानीप्रति सरकारको मौनता जनस्वास्थ्यमाथिको लापरबाही हो भन्ने चिन्ता बढ्दो छ।