मुस्ताङ । यहाँको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरूप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्षमा विनियोजित ३० लाख रुपैयाँमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए । समुद्री सतहदेखि तीन हजार नौ सय मिटर उचाइमा रहेको बारागुङ–२ छेङ्गुर गाउँमाथिको पाखोमा मैदान निर्माण सुरु भएको उनले बताए । ‘चालू आवमा विनियोजित बजेटले स्थानीय उपभोक्ता समितिमार्फत खेलमैदान निर्माणको काम भएको हो’, कार्यालय प्रमुख दर्जीले भने, ‘सीमित बजेटमा यसपटक मैदानको जमिन सम्याउने, फिलिङ गर्ने, कटिङ गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएको छ ।’ उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताए । ‘अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगनलगायत काम बाँकी छन्’, उनले भने ।
स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधासम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताए । गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तर्राष्ट्रिय ट्रेनिक सेन्टर निर्माण गर्ने लक्ष्यअनुरूप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णता दिनुपर्ने उनको भनाइ छ । यहाँ नजिकै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत विश्वकै अग्लो उचाइमा रहेको भनिएको थोरङ्लापास यसै स्थान नजिकै रहेको छ । पछिल्लो सयम सडक यातायातको पहुँच समेत भएकाले यहाँ अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गरे । यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिन सकिने र यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको आग्रह छ ।
मुक्तिनाथ क्षेत्रमा अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या गुरुङले उल्लेख गरे ।