काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउन तत्काल ‘सनसेट ल’ (अस्थायी रूपमा अवरोधकारी कानुन निलम्बन गर्ने व्यवस्था) लागू गर्न सरकारसँग माग गरेका छन्।इप्पानको २३ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा विकास मार्गचित्र २०८१ महत्त्वपूर्ण भए पनि कार्यान्वयन कमजोर रहेको बताए। उनले वातावरण, वन र भूमि सम्बन्धी कानूनहरू विकासविरोधी रहेको भन्दै ऊर्जा विकास संकटकाल घोषणा गर्नुपर्ने धारणा राखे।
कार्कीका अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेशले १९ हजार मेगावाट क्षमताका २१७ आयोजना रोकिएका छन्। प्रस्तावित विद्युत् विधेयक–२०८० मा रहेका प्रावधानहरूले निजी क्षेत्र झस्किएको भन्दै उनले त्यस्ता विधेयक नल्याउन सरकारलाई आग्रह गरे। उनले ४० हजार मेगावाट क्षमताका आयोजना, ट्रान्समिसन लाइन र पूर्वाधार रोकिएको उल्लेख गर्दै, “देश धनी बनाउने हो भने स्वदेशमै विद्युत् खपत बढाउनुपर्छ,” भने।