काठमाडौँ — भारतको प्रतिष्ठित रिलायन्स इन्डस्ट्रीज र नेपालको चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिङ्क ब्रान्ड ‘क्याम्पा कोला’ अब नेपालमै उत्पादन हुने भएको छ। २५० मिलिलिटरको बोतलको मूल्य केवल ३० रुपैयाँ तोकिएको छ।रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (RCPL) द्वारा उत्पादन गरिएको यो हेरिटेज ब्रान्डले नेपालमा चौधरी ग्रुपमार्फत उत्पादन र वितरण सुरु गरेको हो। कम्पनीका अनुसार क्याम्पा कोला, लेमन, अरेन्ज, इनर्जी गोल्ड बुस्टर र बेरी किक गरी पाँच भेरियन्ट बजारमा ल्याइनेछ।
आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुपसँग सहकार्य गरेर नेपालमा दीर्घकालीन लगानी गर्ने विश्वास व्यक्त गरेका छन्। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई ऐतिहासिक र गुणस्तरीय स्वाद दिन पाउनु गौरवको विषय भएको बताएका छन्।क्याम्पा कोला यसअघि भारत र गल्फ मुलुकहरूमा लोकप्रिय भइसकेको ब्रान्ड हो। अब नेपाली बजारमा पनि यसको रिफ्रेशिङ स्वाद, आकर्षक प्याकेजिङ र ऐतिहासिक छविले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।