काठमाडौँ — घूस डिल प्रकरणमा राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि कानुनी कारबाही र तत्काल गिरफ्तारीको माग प्रतिपक्षी दलले गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद शिव नेपालीले गम्भीर आरोप लागेका गुप्ताको राजीनामा स्वागतयोग्य भए पनि अन्य पोलिएका मन्त्रीहरूलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरे।
त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गुप्तालाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरे। उनले प्रश्न गरे, “राजीनामा दिएपछि मात्रै दोषमुक्त हुन्छ र? पक्राउ गरेर छानबिन गरियोस्।” प्रतिनिधिसभामा प्रतिपक्षको यो आक्रोशपछि घूस प्रकरणमा थप मन्त्रीहरू पनि मुछिने संकेत देखिएको छ।