काठमाडौं,एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस काण्डमा मुछिएपछि मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा र भूमि आयोगको सदस्य नियुक्तिको नाममा ७८ लाख रुपैयाँ घुस डिल गरेको तथा सरुवा बढुवामा लार्खौको बार्गेनिङ गरेको अडियो रेकर्डसहित गत असार ११ गते पहिलोपटक आर्थिक दैनिकमा समाचार सार्वजनिक भएको थियो ।
घुस डिल गरेको अडियोसहितको समाचार सार्वजनिक भएसँगै व्यापक दबाब आएपछि प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन दबाब दिएका थिए । प्रधानमन्त्री ओलीको दबाबपछि मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिँदै मन्त्री गुप्ताले नखाएको विष लागेको भन्दै प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनून् भन्ने अपेक्षा रहेको र आजसम्ममा विभिन्नरूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई धन्यवाद व्यक्त भन्दै राजीनामाको घोषणा गरेका थिए ।
अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीबोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता रहेको भन्दै मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत अब आफू जनताको घरदैलोमा जाने उल्लेख गरेका छन् । गत साल असार ३१ गते मन्त्री पदमा नियुक्त भएका गुप्ताले त्यसैको एक वर्षपछि मंगलबार पदबाट राजीनामा दिँदै कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ, म अहिले त्यसैको शिकार भएँ र अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको भनेका छन् ।
गत असार १० गते मंगलबार मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख घुस डिल गरेको भन्दै अडियो, पैसाको फोटोसहित अख्तियारमा उजुरी परेको थियो भने उजुरी परेको भोलिपल्टै आर्थिक दैनिकले अडियो रेकर्डसहित समाचार प्रकाशित गरेको थियो । एमालेको पर्सा ३ बाट प्रतिनिधिसभामा निर्वाचित गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
आर्थिक दैनिकले समाचार प्रकाशित गर्नुअघि मन्त्री गुप्तालाई घुस डिल गरेको विषय तपाईंको भनाइ के हो भनेर सोध्न फोन गर्दा समाचार नराखिदिन अनुरोध गर्दै आर्थिक दैनिकको कार्यालयमा नै आएर छलफल गर्ने बताएका थिए । आर्थिक दैनिकले पहिलोपटक सार्वजनिक गरेको अडियोमा मन्त्री गुप्ता र उनकी भतिजी भनिएकी मेलिना नाम गरेकी महिलाले व्यापारीसँग रकम माग्दै गरेको स्पष्ट सुनिन्छ ।मन्त्री निवासमै रकम ल्याउन निर्देशन दिइएको, दराजमा पैसा राखिएको र पूर्वमन्त्रीमार्फत बारम्बार लेनदेन भएको विवरण अडियोमा समेटिएको छ ।
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
यसअघि राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।