काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिसुधारमन्त्री बलराम अधिकारीले घुस लेनदेन गरेको अर्को अडियो पनि सार्वजनिक भएको छ । गत असार १० गते सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको भिडियोसहितको समाचार आर्थिक दैनिकले पहिलोपटक खुलासा गरेको थियो । जिल्ला मालपोत कार्यालय कास्कीको प्रमुखको सरुवा, थमौती र भूमि आयोगको अध्यक्ष नियुक्तिलाई लिएर भएको लेनदेनको आकार बढेर एक करोड ९९ लाख रुपैयाँ पुगेको छ । नयाँ सार्वजनिक भएको अडियोअनुसार घुस लेनदेन गर्ने पात्रहरू पनि थपिएका छन् । यसअघि गुप्ता र अधिकारीको मात्रै नाम सार्वजनिक भएको थियो । तर, अहिले यो घुस लिने समूहमा तत्कालीन भूमिसुधारसचिव अर्जुन पोखरेल र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि थपिएका छन् । नयाँ बिचौलियाको रूपमा हाल कास्की मालपोतमा रहेका सुब्बा दिपक सुवेदी पनि थपिएका छन् । किनकि सुवेदीले हाल मालपोत कार्यालय कास्कीको प्रमुख चिरञ्जीवी पौडेललाई सरुवा गराउँदा ७० लाख खर्च गरेर ल्याएको बयान दिएको अडियो पनि फेला परेको छ ।
तत्कालीन भूमिसुधारसचिव अर्जुन पोखरेलले पाँच लाख रुपैयाँसहित वन कुखुरा र ग्रिनफिल्ड नामक महँगो रक्सी हात पारेको अडियोमा सुन्न सकिन्छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठले पनि १५ लाख रुपैयाँ लिएको अडियोमा सुन्न सकिन्छ । यही प्रकरणले राजीनामा दिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्कीस्थित तत्कालीन मालपोत प्रमुखको थमौतीका लागि ५३ लाख रुपैयाँ र राष्ट्रिय भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि थप २५ लाख गरी ७८ लाख रुपैयाँ डिल भएको अडियोमा सुन्न सकिन्छ । सुब्बा दिपक सुवेदीले ७० लाख रुपैयाँ खर्च गरेर चिरञ्जीवीलाई त्यहाँ ल्याएको अडियोमा बताएका छन् । मदिराको सुरमा उनले ७० लाख खर्च गरेर हाकिम ल्याएको दाबी गरेकोजस्तो सुन्न सकिन्छ । अडियोमा सुन्दा १७ जस्तो सुनिए पनि ७० लाख घुस बुझाएर पौडेलको सरुवा भएको समाचार सूत्रको दाबी छ ।
कास्कीका घरजग्गा व्यवसायी सुजन लामाले भूमिसुधारमन्त्री बलराम अधिकारीलाई ३१ लाख रुपैयाँ दिएको दाबी अडियोमा गरेका छन् । हरियो रंगको जेब्रा झोलामा मन्त्री अधिकारीले यतिका रकम बुझेको दाबी छ । तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई अवधि नै नपुगी सरुवा गरिएपछि उनलाई सोही कार्यालयमा थमौती गर्नका लागि सिंहदरबारका मन्त्रीहरूले खुलमखुला घुस उठाएका हुन् । मन्त्रीहरूले अधिकारीलाई थमौती गर्न घुस लिएर अर्को कर्मचारीलाई त्यहाँ सरुवा गर्न पनि घुस लिएको देखिन्छ । सिंहदरबारका दुई मन्त्री र एक सचिव र पूर्वमन्त्रीहरूसँग आर्थिक लेनदेन गरेको प्रमाणहरूले देखाउँछ । हरियो जेब्रा झोलामा ३१ लाख रुपैयाँ घुस भूमिसुधारमन्त्री बलराम अधिकारीलाई बुझाएको ती घरजग्गा व्यवसायीको दाबी छ । मन्त्री अधिकारीका छोरा मनोज अधिकारी न्युजिल्यान्डबाट नेपाल आएर घुस उठाउने कार्यमा सक्रिय रहेको ती व्यक्ति बताउँछन् । भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै पैसा बुझाउने कार्य भएको उनको अडियोमा बताइएको छ ।
त्यस्तै, तत्कालीन भूमिसुधार सचिव अर्जुन पोखरेलले पाँच लाख रुपैयाँ र वन कुखुरासहित ३० हजार रुपैयाँ पर्ने ग्रिनफिल्ड नामक रक्सी पाएका थिए । २०७९ सालमा कपिलवस्तु जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएका अधिकारी गत वर्ष फागुनमा भूमिसुधारमन्त्री नियुक्त भएका थिए ।रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीकी नेता रञ्जिता चौधरी श्रेष्ठ पनि यो प्रकरणमा बिचौलियाको भूमिकामा देखिएकी छन् । उनलाई पनि १५ लाख रुपैयाँ दिएको ती घरजग्गा व्यवसायीको अडियोमा सुन्न सकिन्छ । उनै श्रेष्ठले १८ लाख रुपैयाँ सुरुमा सामान्य प्रशासनमन्त्री गुप्तालाई दिएको घरजग्गा व्यावसायीले अडियोमा बताएका छन् । अडियोहरूबाट पुष्टि हुन्छ कि कास्कीस्थित मालपोतका हाकिम थमौतीका लागि भूमिसुधारमन्त्री बलराम अधिकारीले ३१ लाख, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि आयोग सदस्य नियुक्ति र कर्मचारी थमौतीका लागि ७८ लाख, पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई १५ लाख र तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव अर्जुन पोखरेललाई पाँच लाख गरी एक करोड २९ लाखको डिल भएको छ । त्यस्तै, हाल मालपोत कार्यालय कास्कीका प्रमुख रहेका चिरञ्जीवी पौडेललाई सरुवाकै लागि आफूले ७० लाख खर्च गरेर ल्याएको दाबी सुब्बा दीपक सुवेदीले गरेको अडियोमा सुन्न सकिन्छ । कास्कीको मालपोतको हाकिम परिवर्तन, थमौतीका लागि मात्रै एक करोड ७४ लाख रुपैयाँको डिल भएको रेकर्डहरूले देखाएको छ । भूमि आयोगका सदस्य नियुक्तिको रकम समेत जोड्ने हो भने यो कारोबारको कुल रकम एक करोड ९९ लाख हुन आउँछ ।
कास्की मालपोतका चिरञ्जीवीमाथि भएन छानबिन
कास्की मालपोत कार्यालयमा प्रमुख छन्, चिरञ्जीवी पौडेल । उनै पौडेललाई ७० लाख दिएर ल्याएको हुँ भन्दै दाबी गर्ने सुब्बा दिपक सुवेदी कास्कीस्थित मालपोत कार्यालयमै कार्यरत छन् । २०८१ पुस १८ गतेको सचिवस्तरीय निर्णयअनुसार पुस १९ मालपोत कार्यालय कास्कीको प्रमुखको रूपमा दोस्रोपटक सरुवा भएका थिए । पौडेलले कास्कीको रुपाकोट रिसोर्ट प्रालिको जग्गा हदबन्दीभन्दा बढी रहेको प्रतिवेदनलाई गुपचुप पारेर हदबन्दी बढीको जग्गाबारे छानबिन नै नगरी फुकुवा गरिदिएको आरोप छ । अडियोमा बोलेका सुब्बा दिपक सुवेदी समेतको मिलेमतोमा फेवातालको मुहानको सिमसार क्षेत्र रहेको करिब एक सय ९० रोपनी जग्गा भू–माफियालाई छुट दर्ता गरिदिएको पौडेलमाथि आरोप छ ।
अडियोमा बोल्ने सुब्बाले ७० लाख रुपैयाँ कसलाई दिएका हुन् भन्ने अडियोमा खुलाइएको छैन । मालपोत कार्यालय कास्कीको तालुकदार मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै निर्णयअनुसार पौडेलको पदस्थापना कास्कीमा भएका कारण दुई मन्त्रीमाथि थप छानबिन आवश्यक छ ।अडियोमा बोल्ने सुब्बा दिपक सुवेदीलाई २०८१ असोज ६ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको पत्रमा उल्लेख छ । तर, उनी लामो समयदेखि मालपोत कार्यालय कास्कीमै कार्यरत छन् ।
भूमिसुधारमन्त्री अधिकारी सम्पर्कविहीन !
अडियोसहितका समाचार बारे प्रतिक्रियाका लागि भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई पटकपटक सम्पर्क गर्दा उनले फोन उठाएनन् । उनका स्वकीय सचिवहरू भने मन्त्री मन्त्रालयमै रहेको बताउँछन् । तर, घुस प्रकरणबारे आफूलाई जानकारी नभएको स्वकीयसचिव भेषराज पाण्डे बताउँछन् । उनले मन्त्री अधिकारीले बोलेको अडियो हालसम्म सार्वजनिक नभएकाले मन्त्रीलाई दोष दिन नहुने तर्क गरे ।सचिव अर्जुन पोखरेलले भने आफूलाई यो विषय जानकारी नै नभएको बताए । हालै सहकारी विकास प्राधिकरणको नेतृत्वका लागि समेत तीन व्यक्तिभित्र पर्न सफल भएका पोखरेलले आफ्नो संलग्नता नरहेको बताए ।
पूर्वमन्त्री गुप्ताको घुस लेनदेनको दोस्रो अडियो सार्वजनिक
https://youtu.be/CrgSzAB-mb0?si=r3ygEaYBrf1rOXxs