काठमाडौं । भिजिट भिसामा स्पेन गएर लुकेको भन्ने विषयमा छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेको छ ।
रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा गएका केही नेपालीहरू नफर्किएको विषय संसद्मा उठाएपछि गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर यो विषयमा अनुसन्धान अगाडि बढाउन र संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
गृहमन्त्री रमेश लेखकको निर्देशनपछि एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवर र सीआईबीका अधिकारीहरू सम्मिलित समिति गठन भएको हो । समितिले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा को–को गए ? उनीहरू फर्किए कि फर्किएनन् ? उनीहरूलाई त्यहाँ के–कसरी पठाइयो र को–को संलग्न छन् भन्ने छानबिन गर्ने प्रहरीले बताएको छ ।