काठमाडौं । सहरी विकास मन्त्रालयले अनधिकृतरूपमा प्रयोग भएका मन्त्रालयका गाडीहरू फिर्ता ल्याएको छ । साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ ।
पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनपछि अनधिकृतरूपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको हो । मन्त्रालयबाट सरुवा भइजाँदा सचिव र उच्चपदस्थ कर्मचारीहरूले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ । त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतीय हाजिरीमा पनि कडाइ गर्ने भएको छ । अहिले विद्युतीय हाजिरीको व्यवस्था भए पनि विभिन्न बहाना बनाएर हाजिरी टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो ।
यसैगरी मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी काम कारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्नेछ । मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार आंशिकरूपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेको छ । साउन १ गतेबाट भने पूर्ण कार्यान्वयनमा ल्याउने उनले जानकारी दिए । ‘सरकारी काम कारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौँ,’ उनले भने, ‘अब अन्तर मन्त्रालय फाइल र चिठी पत्र, मन्त्रालय र विभागहरूबीच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’
प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै
सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख आयोजनाहरूका प्रत्यक्ष नियमित अनुगमन अब मन्त्रालयबाटै हुनेछ । अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उपप्रधानमन्त्री सिंहले मन्त्रालयस्थित कार्यकक्षबाटै अनुगमन गर्दै आएका छन् । साउन १ गतेबाट अब अरु आयोजनाहरूको पनि मन्त्रालयबाटै अनुगमन हुनेछ । आयोजनाको कार्यप्रगति विवरण मन्त्रालयको कन्ट्रोल रुमबाट नियमितरूपमा अनुगमन हुने मन्त्रालयले जनाएको छ ।
धरहरा सार्वजनिक बिदाको दिन पनि सञ्चालन हुने
धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । यस्तै, सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए ।
धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गत असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक बिदाको दिन बन्द नगर्न सुझाव दिएका थिए । मन्त्रालयले सोहीअनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागेको हो ।
यस्तै, धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार छ सय ५० रुपियाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)ले जनाएको छ । धरहरा सञ्चालन भएको यस अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।
झापाको बिजनेस कम्प्लेक्स खुला हुने
झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । सहरी विकास मन्त्रालयले अहिले परीक्षणका रूपमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो यो कप्लेक्स १८औँ तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।