काठमाडौं । एभरेष्ट बैंकले वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका अनुसार जनकनन्दिनी गाउँपालिकाका ३२ जना विद्यार्थीहरूलाई दुईदिने वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको हो । एभरेष्ट बैंक लिमिटेडको आर्थिक सहयोगमा सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लूए)को संयोजन तथा फाइनान्स फ्रेन्ड प्रालिको आयोजनामा उक्त दुईदिने वित्तीय सक्षरता तालिम खजुरीमा सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।
साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सानैदेखि बचत गर्ने तथा चक्रिय ब्याजको बारेमा जानकारी गराइएको सीएफडब्लूएका कार्यकारी निर्देशक लक्षमेश्वर मंडलले जानकारी दिए । सहभागी विद्यार्थीहरूलाई आम्दनीका स्रोतहरूको पहिचान, लक्ष्य निर्धारण, बचत गर्ने बानी, बजेट बनाउने तरिका र जिम्मेबार बैंकिङ व्यवहारका बारेमा जानकारी गराइएको थियो । साथै विद्यार्थीहरूलाई अहिले देखि नै आम्दनीका स्रोतहरू खोजी अनिवार्य बचत गरी लगानी बढाउने विषयमा तालिम प्रदान गरिएको थियो । सहभागीहरूलाई दुई दिनसम्म फाइनान्स फ्रेन्ड प्रालिका संस्थापक तथा कार्यकारी निर्देशक रमेशप्रसाद जोशी तथा निर्देशक बिनय दिल लामाले प्रशिक्षण दिएका थिए । अधिकांश छात्राहरू सहभागी भएको उक्त तालिममा सहभागीहरूलाई नयाँ विषयमा तालिम प्रदान गरी अर्थका बारेमा सानैदेखि जानकारी पाएपछि वित्तीय जानकारीले भविष्यमा काम लाग्ने निर्देशक लामाले जानकारी दिए ।
बैंकका अनुसार तालिममा सहभागी भएकाहरूलाई पछि स्थानीय तहसँगको समन्वयमा उनीहरूलाई पछि व्यावसायिक तथा वित्तीय व्यवसायलाई अगाडि बढाई स्वरोजगार बनाउन सघाउने बताए । अन्य प्रदेशमा रहेका विभिन्न समुदायलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिई आर्थिक विकासमा सहयोग पुर्याएको जानकारी दिँदै लामाले धनुषाको अन्य पालिकमा समेत यस्ता तालिम सञ्चालन गर्न सक्ने बताए । पालिकाको समन्वयमा वित्तीय साक्षरतासमबन्धी तालिमपछि पर्यटन विकासका क्षेत्रमा तालिममा सहभागीहरूलाई लगाउने योजना रहेको बताए । तालिममा संस्थाका मधेशप्रदेश संयोजक विवेक रिमालको समेत सहभागिता थियो । यो तालिममा सहभागी भएपछि आफूहरूमा सानैदेखि बचत र लगानी गर्ने, लगानी गर्दा चक्रिय ब्याजको प्रयोग गर्नेलगायतका विषयमा राम्ररी जानकारी पाएको सहभागी चञ्चल मण्डलले बताइएन । यस्ता तालिममा सहभागी भएपछि आत्मविस्वास बढ्नुका साथै पैसाको बारेमा जानकारी पाई सानैदेखिको लगानीले भविष्यमा आर्थिक उन्नति गर्न सहयोग पुग्ने तालिममा सहभागी अर्का छात्र अजित पण्डितले बताए । सो तालिमको उद्घाटन सत्रमा सहभागी भएका जनकनन्दिनी गाउँपालिकाका उपप्रमुख कमला सहगलले यस्ता तालिमले विद्यार्थीहरूमा सानैदेखि वित्तीय व्यवस्थापन समन्धमा ज्ञानको विकास भई आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । भविष्यमा पालिकाले उनीहरूको लागि थप कार्यक्रम ल्याउने उनले आश्वासन समेत दिए ।