काठमाडौं । नेपाल बैंकले बीमा दाबी रकम भुक्तानी गरेको छ । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ स्थित झम्केश्वरी माविका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेकी रघुनन्दन यादवकोे गत जेठ १२ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ३ मा सडक दुर्घटनामा परी देहावसान भएको हुँदा निजको परिवारलाई नेपाल बैंकद्वारा दुर्घटना बीमा दाबी रकमबापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको बैंकले जानकारी दिएको छ । बैंकको कर्मचारी तलब खाताअन्तर्गतको विशेषताबमोजिम खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा पाँच लाखसम्मको दुर्घटना बीमा पाउनसक्ने व्यवस्थाअनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको छ ।
बैंकले यही असार २२ गते एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले मृतक रघुनन्दन यादवप्रति श्रद्धाञ्ली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बीमा दाबी रकमको चेक स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् ।
सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंकले आफ्ना ग्राहकहरूका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरूमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताए । स्व. श्री रघुनन्दन यादवकी पत्नी श्रीमती अमिरा कुमारी यादवले दुःखको बेलामा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताइन् ।