काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीतिमार्फत व्याजदर कोरिडोरको सीमा घटाएपछि वाणिज्य बैंकहरूले पनि साउन महिनाको लागि निक्षेपको व्याजदर घटाएका छन् । राष्ट्र बैंकले व्याजदर कोरिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई छ दशमलव पाँच प्रतिशतबाट छ प्रतिशतमा झारेको छ । यस्तै, व्याजदर कोेरिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशतबाट घटाएर दुई दशमलव ७५ प्रतिशतमा र नीतिगत दरलाई पाँच प्रतिशतबाट चार दशमलव पाँच प्रतिशतमा झारेको छ । मौद्रिक नीतिमा गरिएको यही व्यवस्थाको प्रभाव अहिले वाणिज्य बैंकहरूको व्याजदरमा देखिएको हो ।
असार महिनामा औसतमा पाँच दशमलव ९० प्रतिशत रहेको वाणिज्य बैंकहरूको निक्षेपको व्याजदर साउन महिनामा घटेर पाँच दशमलव ६९ प्रतिशत कायम भएको छ । मुद्दती निक्षेपको व्याज घटेपछि यसको असर अब कर्जाको व्याजमा पनि पर्नेछ । कर्जाको व्याजदर घट्ने देखिएको छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १४ वटा बैंकहरूले साउन महिनाको निक्षेपको व्याजदर असार महिनाको तुलनामा घटाएका छन् । जसमध्ये नबिल बैंकले साउन महिनाको लागि पाँच दशमलव ५० प्रतिशत व्याजदर तोकेको छ । असार महिनामा नबिलको व्याजदर पाँच दशमलव ७५ प्रतिशत थियो । माछापुच्छ्रे, एनआईसी एसिया र लक्ष्मी सनराइज बैंकले पनि साउन महिनाको लागि क्रमशः पाँच दशमलव ५०, छ दशमलव २५ र पाँच दशमलव प्रतिशत व्याजदर तोकेका छन् । यसअघि अर्थात् असार महिनामा भने यी बैंकहरूको यस्तो व्याजदर क्रमशः छ, छ दशमलव ५५ र पाँच दशमलव ७५ प्रतिशत थियो । एनएबमी, ग्लोबल आइएमई र सिटिजन्स बैंकले पनि साउन महिनाको लागि क्रमशः छ, छ, र पाँच दशमलव ५० प्रतिशत व्याजदर तोकेका छन् । अघिल्लो महिनाको यी बैंकहरूको यस्तो व्याजदर छ, छ र पाँच दशमलव ६५ प्रतिशत थियो ।
साउन महिनाको लागि कृषि विकास, कुमारी र प्राइम कमर्सियल बैंकले पनि क्रमशः पाँच दशमलव ४०, पाँच दशमलव ४१ र छ प्रतिशत व्याजदर तोकेका छन् । असार महिनामा भने यी बैंकहरूको यस्तो व्याजदर क्रमशः पाँच दशमलव ४५, पाँच दशमलव ५१ र छ दशमलव २५ प्रतिशत थियो । नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबीआई बैंकले पनि साउन महिनाको लागि क्रमशः पाँच दशमलव २५, छ र पाँच दशमलव ३५ प्रतिशत व्याजदर तोकेका छन् । असार महिनामा भने यी बैंकहरूको यस्तो व्याजदर क्रमशः पाँच दशमलव पाँच, छ दशमलव २५ र पाँच दशमलव पाँच प्रतिशत थियो । एभरेस्ट, सिद्धार्थ र सानिमा बैंकले पनि साउन महिनाको लागि क्रमशः छ दशमलव २५, पाँच दशमलव ७५ र छ दशमलव १८ प्रतिशत व्याजदर तोकेका छन् । असार महिनामा भने यी बैंकहरूको यस्तो व्याजदर क्रमशः छ दशमलव ५५, पाँच दशमलव ७५ र छ दशमलव ३३ प्रतिशत थियो ।
नेपाल बैंक र प्रभु बैंकले भने साउन महिनाको लागि क्रमशः पाँच दशमलव ४० र चार दशमलव २५ प्रतिशत व्याजदर तोकेका छन् । असार महिनाको लागि यी बैंकहरूको यस्तो व्याजदर क्रमशः पाँच दशमलव ४५ र छ दशमलव एक प्रतिशत रहेको थियो । स्ट्यान्र्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि साउन महिनाको लागि क्रमशः छ दशमलव २५ र पाँच दशमलव ५० प्रतिशत व्याजदर निर्धारण गरेका छन् । असार महिनाको लागि भने यी दुई बैंकहरूको यस्तो व्याजदर क्रमशः छ दशमलव २५ र छ प्रतिशत थियो ।