काठमाडौं । हिजोआज कहीँ–कतै कसैले छिस्रिक्क केही बिगार्यो कि ‘नैतिकता देखाऊ’ भनेर कुर्लिनेको भीड सामाजिक सञ्जालतिर लाग्न थाल्छ । चिया पसल, गल्ली, गल्छेडो जता गयो उतै त्यही मात्र चर्चा हुन्छ । फलानाले नैतिकता देखाएन भन्छन् । विचराले त्यो नैतिकता कसरी देखाओस् ? उसैलाई थाहा छैन कि नैतिकता कहाँ छ , कहाँ हुन्छ भन्ने । त्यो नैतिकता भनेको के हो ? कसैले भन्दैमा किन देखाउने ? त्यो देखाउने कुरो हो कि होइन ? त्यो कहाँ देखाउने, कसलाई देखाउने ? कहिले देखाउने ? यी यस्ता प्रश्न हुन्, जसको उत्तर सजिलै भेटिँदैन । तर पनि नैतिकता देखाऊ भन्ने आवाज उठिरहन्छ । जसलाई नैतिकता देखाऊ भनिएको छ, ऊसँग त्यो छ कि छैन ? प्रश्न गर्नेलाई पनि थाहा छैन । नैतिकता देखाऊ भनिएको पात्रलाई पनि थाहा छैन । तर पनि अमूर्त नै नैतिकता देखाऊ भन्ने आग्रहचाहिँ निरन्तर भइरहेको छ । हिजोआज जसरी यो कुरा उठिरहेको छ त्यसैगरी गिरिजाप्रसाद कोइरालाको उत्तरार्धको जीवनकालभरि यसैगरी नैतिकता देखाऊ भन्ने आवाज उठिरह्यो । उनकै पार्टीका नेताहरूले पनि त्यही भनिरहे, विपक्षीको त कुरै भएन । तर बिचरा गिरिजाप्रसादले त्यो कहिल्यै देखाउन पाएनन् । देखाउन सकेनन् । अहिले उनकै एउटा कार्यकर्ता बिचरो रामहरिलाई त्यसैमा र्याखर्याख्ती पार्ने काम भइरहेको छ । उनको शिखर पुरुषले नचिनेको, देखाउन नसकेको नैतिकता रामहरिले कसरी देखाउन सकोस् । त्यो पनि घुमीफिरी ३० वर्षदेखि उसैमाथि घुमाईफिराई त्यही नैतिकताको अस्त्र प्रहार हुँदै आएको छ । विचरा रामहरि रनभुल्ल के देखाउने, कहाँ देखाउने, कसरी देखाउने, कसलाई देखाउने, कहिले देखाउने, किन देखाउने ? त्यही नैतिकताको पासो सामान्य पूर्व प्रशासन मन्त्री राजकुमार गुप्तालाई पनि लागेको थियो । भूमिसुधार मन्त्री बलराम अधिकारीमाथि पनि नैतिकताको तरबार झुण्डिएको छ ।
रामहरिलाई ‘कुलिङ पिरियड’लाई ‘कु’ गरेको आरोप लागेको छ भने पूर्वमन्त्री र वर्तमान मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि घुस लेनदेनको आरोप लागेको छ । गुप्ताले नैतिकता देखाए पनि अधिकारीले देखाएनन् । हुन त कुनै आरोप नलागेको दुधले नुहाएको त अब पशुपतिनाथ मात्रै बाँकी होलान् । कुनै मन्त्रीले विदेशी मोबाइल नम्बर बोकेर ह्वाट्सअप, भाइबर, म्यासेन्जरमा ठेकेदार र बिचौलियाहरूसँग लेनदेनको कुरा गर्नेगरेको आरोप छ । कुनै मन्त्रीमाथि छोरा र भाइमार्फत घुस उठैतीपुठैती गर्नेगरेको आरोप छ, कसैलाई ससुरो र सालोमार्फत घुस संकलन गरेको आरोप छ ।
प्रधानमन्त्री केपी ओलीले आफू पनि घुस खान्नँ, अरुलाई पनि खान दिन्नँ भनेर जति चर्को स्वरमा कुरा गरे पनि परराष्ट्र मन्त्री आरजु राणाले त्योभन्दा चर्को स्वरमा आफूलाई फाइदा नभई सित्तैमा कसले काम गर्छ भनेको पनि सुनिएकै छ । बिचरा स्वास्थ्य मन्त्री पौडेललाई पार्टीको गुट चलाउने जिम्मेवारी पनि परेको छ । मन्त्रीको तलब–भत्ता मन्त्राणीलाई पनि चाहिएला । गृहमन्त्री रमेश लेखकमाथि ‘भिजिट भिसा’को नाममा नैतिकता देखाऊ भनेर हायलकायल पार्ने प्रयास भयो, धन्य माओवादीलाई पनि सुनको आयत आइलागेको थियो । चतुर प्रधानमन्त्री ओलीको कुटिल चालबाजीपछि राप्रपा र रास्वपाले नबुझे पनि माओवादी नेतृत्वले बेलैमा कुरो बुझेका कारण गृहमन्त्री लेखकले नैतिकता देखाउन परेन । देखाउनै पर्ने भएको भए पनि उनले कसरी देखाऊन् ? कहाँ छ, कस्तो हुन्छ अत्तोपत्तो नभएको नैतिकता कसरी देखाउनु ? गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई त्यही नैतिकता, नैतिकता भन्दाभन्दै बिते, गिरिजाप्रसादले देखाउँदै देखाएनन् । उनीहरू हेर्नै नपाई बिते । त्यही घिडघिडो रह्यो होला बुढाहरूलाई । हिजोआज त जसलाई जहिले मन लाग्यो कि नैतिकता देखा भनिहाल्छन् । कुन दिन खेलकुद मन्त्री तेजुलाल चौधरीलाई नाइटिङ्गलतिरबाट बाटो हिँड्दा पनि नैतिकता देखाऊ भनेर कसैले भन्न थाल्योे भने आश्चर्य मान्नु पर्दैन । विष्णु पौडेललाई कान्छारामले चखाइहाले, आफैँ कान्छारामले अर्थ समितिमा असली रूप देखाइहाले । वर्षमान र सुनील शर्माहरूले पनि देखाउनुपर्ने दिन आऊला ।
योगेश भट्टराईले जस्तो सधैँ भागेर उम्कने मौका सबैले नपाऊलान् नि ! चार्टर फ्लाइटमा कुरा उठेको थियो, बतास काण्डमा पनि नैतिकता देखाऊ भन्थे, पाथीभरा केबलकार काण्डमा पनि भनिरहेका छन् । भन्नेले भनिरहन्छन् तर उनले जस्तै माधव नेपालले पनि केही देखाउन आवश्यक ठानेका छैनन् । उनीहरूका विचारमा झाँक्रीहरूको काम ढ्याङ्ग्रो ठटाएर उफ्रिरहने नै हो, त्यही गर्छन् । तर उनीहरूले भन्दैमा माधव नेपालले किन देखाउने ? उनी त उसै स्वच्छताका प्रतिमूर्ति नै हुन् नि ? कसैले आरोप लगाएर भ्रष्टाचारी भन्दैमा हुन्छ र ? उनले पनि आफू भ्रष्टाचारी भएको कुरा मान्नु प¥यो नि ! वेदुराम भुषालजस्तो सादगी मान्छेलाई आफूले भनेजस्तो गरेन भनेर सोलुतिरको बस्नेतले कृषि औजार कारखानाको निजीकरण हुनुअघिको त्यतिबेलाको प्रमुख र लेखापालको संयुक्त खातामा लुकेर बसेको १८ करोड रुपैयाँ आधा–आधा गर्न दिएको दबाब नमानेकै भरमा जे पायो त्यो भन्दै हिँड्न त भएन नि । देखाउनुपर्नेले चाहिँ केही नदेखाउने अनि केही पनि नभएकाले चाहिँ के देखाउने ? यो नैतिकता देखाउने भन्ने कुरा पनि लाक्षी र हुतिहाराहरूले जप्ने मन्त्रजस्तो भएको छ । आफू केही गर्न सक्दैनन् अनि नैतिकता देखाऊ भनेर कुर्लन्छन् । कसैले भन्दैमा नैतिकता देखाउनुपर्ने भन्ने कहाँ लेखिएको छ ? लेखिएकै भए पनि त्यो देखाउने भनेको के हो ? अहिलेसम्मको अभ्यासमा ज–जसलाई नैतिकता देखाऊ भनेर दबाब भएका छन्, उनीहरूको कुतर्क यस्तै हुनेगरेका छन् ।
यसै सन्दर्भमा सधैँ नैतिकताको पैरवी गर्दागर्दै देहत्याग गर्नुभएका सर्वमान्य नेता गणेशमान सिंह भन्ने गर्नुहुन्थ्यो, ‘लोकतन्त्रबाट नैतिकता झिकिदियो भने निरंकुशता हुन्छ । अब जसलाई नैतिकता देखाउन दबाब भएको छ त्यस्तो नौमत आइपरेको छ, त्यो देखाउन पर्ने हो कि होइन आफैँ निर्णय गर्नुपर्दछ ।’ संसदीय प्रजातन्त्रलाई उपयोग गर्नेले त ‘जता भत्कियो उतै दैलो’ बनाए पनि केही फरक नपर्ला तर यही संसदीय व्यवस्थालाई आदर्श मान्नेहरूले त कमसेकम त्यसको मूल्य, मान्यता र परम्परालाई मान्नु पर्ला कि ?