काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द दाहालले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधियुक्त र थप स्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
महानगर यातायात प्रालिले बुधबारदेखि सुरु गरेको विद्युतीय बस सेवाको शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको योगदान प्रशंसनीय रहेको पनि बताए । विद्युतीय सवारी साधन, विद्युतीय भुक्तानीजस्ता नविन विषयहरूको उपयोगबाट सेवालाई स्तरीय बनाउन सकिनेमा उनले जोड दिए । ‘विद्युतीय भुक्तानीको विषय सामान्य भइसकेको छ । अचेल सामान्य व्यवसायमा समेत यसको उपयोग भई रहेको छ’, उनले भने, ‘खै किन किन सार्वजनिक यातायातमा यसको प्रयोगमा ढिलाई भइरहेको छ तर अब ढिला नगरौँ, सरकारको तर्फबाट गर्नुपर्ने कामका लागि हामी तयार छौँ ।’ सडक तथा पूर्वाधार निर्माणलाई विश्वस्तरीय बनाउने काम भई रहेको भन्दै मन्त्री दाहालले दिगो, गुणस्तरीय, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरका संरचना बनाउन सरकारले ध्यान दिएको बताए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम तथा भौतिक पूर्वाधारमन्त्री प्रेमभक्त महर्जनले संवैधानिक व्यवस्थाअनुसार यातायात क्षेत्रको नियमन र व्यवस्थापनका लागि प्रदेश तहबाट नै काम भइरहेको बताए । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नीतिगत सुधार र व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए । यस्तै, सेवा प्रवाहलाई स्तरीय बनाउन व्यवसायीहरूबाट भइरहेको प्रयास पनि सह्रानीय रहेको उल्लेख गरे । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायतले सार्वजनिक यातायात पहुँचयोग्य र स्तरीय बनाउनुपर्नेमा जोड दिए ।
महानगर यातायात प्रालिले एकसाथ १२ ओटा ठूला यात्रुवाहक विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । सो कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवद्र्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।