काठमाडौं । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित ‘इन्स्योरेन्स एसिया अवार्डस २०२५’मा ‘सोसल मिडिया इनीसिएटिभ अफ द इयर—नेपाल’ उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाइ मेटलाइफ एपमार्फत ‘हेल्थ रिस्क एसेस्मेन्ट’ सुविधा प्रवर्द्धन गर्ने डिजिटल अभियानको उत्कृष्ट सफलताको कदरस्वरूप प्रदान गरिएको हो ।
पुरस्कृत अभियानले उपभोक्ताहरूलाई स्वास्थ्य निगरानीको महत्व बुझाउन र बीमितहरूले कसरी सक्रिय स्वास्थ्य व्यवस्थापनका साझेदार बन्न सक्छन् भन्ने सन्देश दिन केन्द्रित थियो । वान बाइ मेटलाइफको हेल्थ रिस्क एसेस्मेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई कुनै विशेष उपकरणविना, केवल स्मार्टफोनको क्यामेराको प्रयोग गरेर रियल टाइममा आफ्नो स्वास्थ्य स्थिति जाँच गर्न सक्षम बनाउँछ । छोटो अनुहार स्क्यानमार्फत प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्यसम्बन्धी अन्तरदृष्टि प्राप्त गर्न सक्छन्, जसले मेटलाइफको दैनिक जीवनमा रोकथाममुखी स्वास्थ्य सेवा पुर्याउने लक्ष्यलाई समर्थन गर्छ ।
पाँचहप्ते यो अभियानले उल्लेखनीय परिणामहरू हासिल गरेको थियो—१०,००० नयाँ एप रेजिस्ट्रेसन, थप इच्छुक ग्राहकहरू, र प्रयोगकर्ता संलग्नता तथा एप रोजाइका स्पष्ट प्रमाणहरू प्राप्त भए । यी उपलब्धिहरूले समावेशी र पहुँचयोग्य डिजिटल समाधानमार्फत वास्तविक अनुभव प्रदान गर्ने मेटलाइफ नेपालको प्रतिबद्धता झल्काउँछन् ।
‘यो सम्मानले हामीले मानिसहरूलाई अझ आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग गर्ने उद्देश्यमा अडिग रहेको पुष्टि गर्छ । हामी हाम्रा ग्राहकहरूलाई स्वस्थ जीवनयापनमा सहयोग गर्न प्रतिबद्ध छौँ—स्वास्थ्य सेवा र सुरक्षा केवल पहुँचयोग्य मात्र होइन, उनीहरूको डिजिटल जीवनशैलीमा सहजरूपमा समाहित हुने बनाउने हाम्रो लक्ष्य हो’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।