काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन यात्रामा नयाँ इतिहास बनाउँदै दिगोले पहिलोपटक जुम्लामा नौ वटा डिएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको छ । डिएफएसके डाँफे विद्युतीय भ्यानहरू जुम्लाका छोटो दूरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछ, जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ । यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडीसँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्दैछ । थप चार्जिङ स्टेसनहरू जुम्ला बसपार्क, नाग्मा बजार र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको छ ।
दिगो ग्रुप अफ् कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, ‘जुम्लाजस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु हाम्रो लागि गर्वको कुरा हो । यस उपलब्धिले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरी नै देशभरि विद्युतीय सवारीसाधनको पहुँचलाई विस्तार गरिरहने छौँ ।’ दिगो ग्रुप अफ् कम्पनीजले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ ।
‘मिसन जेरो एमिसन’ को उद्देश्य बोकेर हिनेको दिगोले देशभर विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्भिस, स्पेयर पाट्र्स, लिजिङ, चार्जिङ पूर्वाधार तथा राजमार्गमा आधुनिक रेस्ट स्टप उपलब्ध गराउँदै आएको छ ।