टोकियो । यस वर्षको पहिलो छ महिनामा दुई करोड १५ लाख विदेशी पर्यटकले जापान भ्रमण गरेका छन् । जापान राष्ट्रिय पर्यटन संगठन (जेएनटिओ)का अनुसार यो अहिलेसम्मकै रेकर्ड हो । वार्षिक आधारमा जापानमा विदेशी पर्यटकको आवागमन २१ प्रतिशत बढेको छ ।
‘पर्यटकको संख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो,’ जेएनटीओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्कुलको बिदासँग मिलाएर बढेको मागका’ कारण जुनमा मात्र यो संख्या सात दशमलव छ प्रतिशतले बढेर रेकर्ड ३४ लाख पुगेको जेएनटीओले बताएको छ ।
चीन, दक्षिण कोरिया, सिङ्गापुर, भारत, संयुक्त राज्य अमेरिका र जर्मनीबाट आउने पर्यटकहरूमा वर्षअनुसार वृद्धि भएका कारण यो संख्या बढेको हो । तर हङकङका यात्रुहरूको संख्या ३३ दशमलव चार प्रतिशतले घटेको छ । जेएनटीओले जापानमा ठूलो भूकम्पको चेतावनी दिने अनलाइन अफवाहलाई उद्धृत गरेको छ । सन् २०२४ मा हङकङका करिब २७ लाख मानिस जापान पुगेका थिए ।