काठमाडौं । काठमाडौंको सडकमा हिँड्दा वा सवारी चलाउँदा आजभोलि ट्राफिक प्रहरी तथा स्वयम्सेवकको हातमा एउटा प्लेकार्ड देख्न सकिन्छ, जसमा ‘हर्न बजाउन निषेधफ् भन्ने सन्देश दिइएको पाइन्छ । यो प्लेकार्ड सामान्य लागे पनि यसले एउटा गहिरो सन्देश दिन्छ कि काठमाडौंजस्ता सहरहरूमा हर्नको अत्यधिक प्रयोग समस्याको रूपमा देखा परिसकेको छ । त्यो प्लेकार्डको धज्जी उडाउँदै चालकहरूले हर्न बजाएको सुन्दा मानसिक तनाव त बढ्छ नै त्यसमाथि पनि श्रवणशक्तिमा ह्रास आउनुको साथै असभ्य समाजको निर्माण भएजस्तो लाग्छ ।
नेपालमा अहिले हर्न बजाउनु केवल सूचना दिनको लागि मात्र नभई एउटा फेसनझैँ भइसकेको छ । कतिपय अवस्थामा हर्न रमाइलोको लागि बजाएको जस्तो लाग्छ भने कतै आफूलाई ठूलो देखाउन पनि बजाइन्छ । कतिपय चालकहरू बाटो आफ्नै हो भन्ने सोच राखेर पनि अनावश्यक हर्न बजाउँछन् । यसरी अकारण हर्न बजाइँदा सहरको सौन्दर्य, शान्ति र जीवनशैलीमा नराम्रो प्रभाव पर्छ । रिस र रागजसरी हर्न बजाउँदा आफूलाई भन्दा अरूलाई पनि रिस उठ्ने बनाउने गर्छन् । तर हर्न प्रदूषणका प्रभावहरू धेरै नै हुने गर्छन् । यसको कारण र निरूपण गर्नु आज गम्भीर चुनौती बनेको छ ।
ध्वनि प्रदूषण केवल आवाजको समस्या मात्र होइन, यो मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय हो । निरन्तर हर्नको आवाजले मानसिक तनाव, झर्कोपन, निद्रामा बाधा, रक्तचाप वृद्धि, बालबालिकामा चिडचिडोपन, वृद्धवृद्धामा अशान्ति र बिरामीहरूमा असहजता पैदा गर्छ । साथै सडक नजिक घर हुनेहरू र बिरामीहरूलाई पनि ठूलो असर परेको छ । त्यस्तै विद्यालय, अस्पताल, र कार्यक्षेत्रहरूमा यस्तो हर्न झन् समस्या बनेको देखिन्छ र यो ध्वनि प्रदूषणको समस्या भएर सहर दिनानुदिन असहज र असभ्य बन्दै गइरहेको आभास पाइन्छ ।
अब बुझौँ, नेपालमा किन बढी हर्न बजाइन्छ ? नेपालमा आवश्यकताविना नै हर्न बजाउने चलन निकै फैलिएको छ । सडकमा अनेकौँ किसिमका चालकहरू हुन्छन्, जसमा बाटो सबै आफ्नै हो र म नै यो बाटोको हकदार हुँ भन्ने भावना लिएर गाडी चलाउँछन् । आफू पनि हर्न बजाउँदै कुद्छन् र अरूलाई पनि हर्न बजाउन बाध्य बनाउँछन् । सडकमा ट्राफिक अलिकति पनि रोकियो भने चालक तुरुन्तै हर्न बजाउन थाल्छन् । अघिल्लो गाडीको चालकले छिटो गाडी नचलाएको भन्दै हर्न बजाइन्छ र अघिल्लो चालकले पनि बेलाबेला गाडी चलाउँछन्, लेफ्ट साइड चपाएर गाडी चलाउँदैन अनि पछिल्लो गाडीले बाटो माग्न हर्न बजाउँछ । यसका साथै कतिपय अवस्थामा झर्को मेटाउन पनि र उसलाई दिक्क बनाउनलाई पनि हर्न बजाइन्छ । यस्तो प्रवृत्ति मानवीय अनुशासन र सहरी अनुशासनविपरीतको व्यवहार हो ।
ट्राफिक प्रहरीको ‘हर्न निषेधफ् अभियान यस्ता प्रवृत्तिको अन्त्य गर्नका लागि हो । तर केवल प्लेकार्ड बोकेर चेतावनी र जानकारीले मात्र समस्या समाधान हुँदैन । यसका लागि आम मानिसको व्यवहारमै परिवर्तन, विभिन्न यातायात व्यवसायीहरूलाई सचेतना, संरचनागत सुधार, विभिन्न राइडर कम्पनी र लाइसेन्स दिने बेलामा नै कडारूपमा चेतावनी दिने साथै नीति–नियमको कडाभन्दा कडा पालन गराउनु आजको आवश्यकता हो ।
ध्वनि प्रदूषण बढ्नुका प्रमुख कारणहरू
१. सडक लेन अनुशासनको कमीले गर्दा पनि हर्न बजाउने बानी बढेको देखिन्छ ।
नेपालका अधिकांश सडकहरूमा लेन अनुशासनको पूर्ण अभाव छ । सवारीहरू जथाभावी लेन परिवर्तन गर्छन्, लेनको सीमा नमान्ने प्रवृत्ति छ, नजिकबाट ओभरटेक गर्ने बानी छ । यस्तो अव्यवस्थित चलनका कारण सवारीबीच झगडा र रिस बढ्छ र चालकहरू हर्न बजाएर आफूलाई प्राथमिकता दिन खोज्छन् ।
२. समान गतिमा सवारी नचलाउने प्रवृत्ति नेपालका सडकमा जतैततै देखिन्छ ।
एकै लेनमा अगाडि सवारी ढिलो र पछाडि सवारी छिटो हुँदा पछाडि चालकले झर्को लगाएर हर्न बजाउन थाल्छ । यस्तो असमान गतिले ट्राफिक प्रवाहमा बाधा पु¥याउने मात्र होइन, ध्वनि प्रदूषण पनि निम्त्याउँछ ।
३. सडकमा चौपाया वा अन्य अवरोधहरूको नियन्त्रण नभएकोले पनि हर्न बजाउने प्रवृत्ति बढेको छ ।
कुनै पनि बेला सडकमा गाई, कुकुर वा अन्य चौपाया अकस्मात देखिएपछि चालकहरू हर्न बजाएर हटाउन प्रयास गर्छन् । यो व्यवहार आम छ, जसले सहरमा अनावश्यक ध्वनि बढाएको देखिन्छ ।
४. जथाभावी पार्किङ गर्ने बानी र रोकिराख्ने बानीले पनि हर्न बजाउने चलन बढेको छ ।
सडकको छेउ वा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा गाडी पार्किङ गर्दा अरू सवारीहरूलाई अवरोध पुग्छ । त्यस्ता अवरोध हटाउन हर्न बजाउनुपर्ने बाध्यता देखिन्छ ।
५. फुटपाथ भएको ठाउँमा फुटपाथ प्रयोग नगर्ने पैदलयात्रीहरूको लापरबाहीले पनि हर्न बजाइन्छ ।
कतिपय पैदलयात्री सडकको बीचमा हिँड्ने, फोनमा कुरा गर्दै हिँड्ने वा ध्यान नदिई बाटो काट्ने प्रवृत्तिका कारण चालकहरूलाई हर्न बजाएर सावधानी गराउन बाध्य बनाउँछ ।
६. अभद्र र अधैर्य चालकहरूको प्रवृत्ति पनि बढी पाइन्छ ।
सडकमा केही चालकहरूमा धैर्यको अभाव देखिन्छ । सानो कुरा सहन नसक्ने, सहमतिविना ओभरटेक गर्ने, ट्राफिक नियम नमान्ने प्रवृत्तिले हर्नको प्रयोग अत्यधिक बनाउँछ र रिस उठाउने बनाउँछ ।
७. ट्राफिक सचेतनाको कमी वा लापरबाही हो जसमा धेरै चालक तथा पैदलयात्रीहरूमा ट्राफिक नियमको ज्ञान नभएको वा भए पनि त्यसको पालन नगर्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थाबाट पार पाउन हर्न बजाउने प्रवृत्ति बढ्छ ।
८. मनस्थितिमा सहनशीलताको अभाव र ट्राफिक जामको समस्या तथा तनाव भएको जीवनशैलीले गर्दा पनि हर्न बजाउने चलन बढ्छ ।
अधिकांश व्यक्तिमा अहिलेको व्यस्त जीवनशैलीले गर्दा सहनशीलता घट्दै गएको छ । अलिकति ढिला भयो भने तुरुन्तै हर्न बजाउने बानीले मानसिक अशान्ति र वातावरण प्रदूषित हुन्छ ।
९. सडकलाई केवल व्यक्तिगत प्रयोगको वस्तु ठान्ने सोच पनि कतिपय मानिसमा छ ।
आफ्नै मात्र ढिला र आफूलाई मात्र हतार भन्ने मानसिकताले कतिपय चालकहरू सडकलाई सार्वजनिक नभई व्यक्तिगत अधिकारको वस्तु ठान्छन् । उनीहरूलाई लाग्छ कि उनीहरूको हर्न बजाउने अधिकार अरूभन्दा माथि छ र हर्न बजाउँदा सबै समस्या समाधान हुन्छ ।
१०. अत्यधिक गति र ओभरटेक गर्ने मानसिकता पनि केही चालकहरूमा छ ।
उनीहरूलाई देखाउनुपर्ने र प्रतिस्पर्धा गर्नुपर्ने भावना हुन्छ । छिटो पुग्नुपर्ने हतारले गर्दा धेरै चालकहरू ओभरटेक गर्छन् र हर्न बजाएर बाटो खाली गराउने प्रयास गर्छन् । यस्तो प्रतिस्पर्धात्मक मानसिकता सवारी अनुशासनको मुख्य दुश्मन हो । यसले दुर्घटना निम्त्याउने साथै ध्वनि प्रदूषण पनि गराउँछ ।
अब हामी सबै मिलेर हाम्रो समाजलाई ध्वनि प्रदूषणबाट मुक्त गराउनुपर्छ । यो ट्राफिक प्रहरीले मात्र र राज्यले मात्र जिम्मा लिन सक्दैन, हामी सबै मिलेर हर्न प्रदूषणको निराकरणका उपायहरू सोच्नुपर्ने बेला आएको छ ।
हर्नको प्रयोग न्यून पार्न हामीले दीर्घकालीन र व्यवहारिक समाधानहरू अपनाउन आवश्यक छ । निम्नलिखित उपायहरू लागू गर्नसकेमा सहरको ध्वनि प्रदूषणमा कमी ल्याउन सकिन्छः
१. सडक लेन अनुशासन अपनाउने र लागू गराउने ।
सडकमा लेनको सही प्रयोगले गाडीहरूबीच द्वन्द्व, जाम र हर्नको आवश्यकता कम हुन्छ । लेन परिवर्तन गर्दा संकेत दिने र आफ्नो लेनमा सीमित रहने बानी विकास गर्नुपर्छ ।
२. समान गतिमा गाडी चलाउने अभ्यास गर्न र गर्न लगाउनुपर्छ ।
एकै लेनमा अगाडि र पछाडि गाडीहरू समान गतिको भएमा हर्न बजाउनु पर्ने अवस्था घट्छ । चालकहरूले अचानक ब्रेक नगर्ने र स्थिर गतिको अभ्यास गर्नुपर्छ । चालकमा धैर्यता हुनुपर्छ ।
३. सडकमा चौपाया जनावरहरूको नियन्त्रण र व्यवस्थापन गर्नुपर्छ ।
सडकमा गाई, कुकुर, बाख्राजस्ता जनावरहरूको अनियन्त्रित गतिविधिले हर्न बजाउने बाध्यता सिर्जना गर्छ । स्थानीय सरकार र नागरिक मिलेर यस्ता जनावरहरूको व्यवस्थापन गर्नुपर्छ । साथै आफूले पालेका चौपायाहरूको व्यवस्थापन आफैँले गर्नुपर्छ र कसैले छोडेको पाइए कडा नियम लागू गरिनुपर्छ ।
४. जथाभावी पार्किङ नगर्ने र निषेधित स्थानमा गाडी नराख्ने व्यवस्था गरिनुपर्छ ।
गलत स्थानमा पार्किङले अन्य गाडीको आवागमनमा अवरोध पु¥याउँछ जसले गर्दा चालकहरू हर्न बजाएर बाटो खाली गर्न दबाब दिन्छन् । पार्किङ प्रणाली व्यवस्थित हुनुपर्छ ।
५. फुटपाथ प्रयोग गरेर हिँड्ने बानी विकास गर्नुपर्छ ।
पैदलयात्रीहरूले सडकको बीचमा वा गाडी चल्ने भागमा हिँड्ने हो भने चालक हर्न बजाएर सावधानी गराउँछन् । सबैले फुटपाथ प्रयोग गर्ने संस्कृति बनाउनु अत्यावश्यक छ । तर फुटपाथ नभएको ठाउँमा पैदलयात्रीलाई पनि प्राथमिकता दिई गाडी चलाउनुपर्छ । पैदलयात्रीलाई हर्न बजाएर तान्नु हुँदैन ।
६. सकारात्मक मानसिकता विकास गर्नु र सिक्नु आजको आवश्यकता हो ।
धैर्य, सहिष्णुता र नियम पालन गर्ने सोच विकासले सामाजिक अनुशासन बलियो बनाउँछ । हर्नको प्रयोग पनि यस्तै मानसिकता परिवर्तनबाट घट्न सक्छ । मानिस शिक्षित हुनु भनेको पढ्नु मात्र होइन, यस्ता अस्वाभाविक कार्यहरूबाट बच्नु पनि हो ।
७. अरू सवारीचालक र पैदलयात्रीको सम्मान गर्ने बानी बसाल्नु पर्छ ।
अरूलाई पनि बराबरीको अधिकार भएको सोच राखेर व्यवहार गर्दा हर्न बजाउनुपर्ने अवस्था स्वाभाविकरूपमा घट्छ । सडकमा सहअस्तित्वको भावना आवश्यक छ ।
८. बस तथा सार्वजनिक सवारीका लागि उचित बस्ने स्थलहरूको व्यवस्था गर्नुपर्छ ।
चालकले जथाभावी बस रोक्नु हुँदैन । जथाभावी ठाउँमा सार्वजनिक सवारी रोकिँदा ट्राफिक अवरोध हुन्छ र त्यसको प्रतिक्रियास्वरूप हर्न बजाइन्छ । स्टपको स्थान स्पष्ट, सुरक्षित र व्यवस्थित हुनुपर्छ ।
९. अनावश्यक र अनधिकृत पार्किङको व्यवस्थापन तथा कारबाही गर्नुपर्छ ।
सार्वजनिक ठाउँहरूमा गाडी राख्दा सम्बन्धित निकायले तत्काल कारबाही गर्नुपर्छ । यसले गम्भीरता बढाउँछ र हर्नजस्ता प्रतिक्रियात्मक व्यवहार कम हुन्छ ।
१०. साइडबाट आउने सवारीले ‘क्तयउ, ीययप बलम न्यफ् विधि अपनाउनुपर्छ ।
केही समय रोकिएर गाडी अगाडि बढाउनुपर्छ । अचानक सडकमा पस्ने गाडीहरूले जाम र झमेला बढाउँछन् । साइडबाट आउने सवारीले रोकेर हेरेर मात्र अगाडि बढ्ने बानी बसाल्नुपर्छ ।
११. चालकहरूलाई धैर्यशील बनाउने तालिम तथा जनचेतना कार्यक्रम ट्राफिक प्रहरीले प्राथमिकताका साथ सञ्चालन गर्नुपर्छ ।
हरेक बसपार्कमा स्वयम्सेवक राखेर सम्झाउनु र नियम उल्लंघनमा जरिबाना गराउनु पर्छ । छड्के चेक पनि गरिनुपर्छ र मोबाइल ट्राफिक प्रहरी हुनु आवश्यक छ । यसले स्थलमै जरिबाना गर्न सकिन्छ र नियन्त्रण हुन्छ । हर्न नबजाएर पनि सडकमा सुरक्षितरूपमा सवारी चलाउन सकिन्छ भन्ने कुरा जनाउनुपर्छ ।
१२. सडक सबैको साझा हो भन्ने धारणा फैलाउनुपर्छ ।
सडकमा सबैको बराबरी अधिकार हुन्छ भन्ने चेतना फैलाउन सके अनावश्यक प्रतिस्पर्धा, झर्को र हर्नको प्रयोगमा कमी आउँछ ।
१३. ट्राफिक सचेतना कार्यक्रमहरू विद्यालय, कलेज, मिडिया तथा सामाजिक सञ्जालबाट सञ्चालन गर्नुपर्छ ।
बाल्यकालदेखि नै ट्राफिक नियम सिकाउने र युवाहरूमा जागरुकता फैलाउने हो भने ध्वनि प्रदूषण दीर्घकालीनरूपमा हटाउन सकिन्छ ।
१४. ट्राफिक नियमको कडाइका साथ पालना गराउनुपर्छ र जरिबाना बढाउनुपर्छ ।
चालकहरू ट्राफिकको अगाडि मात्र सभ्य भएर अन्यत्र नियम मिच्ने गरेको पाइन्छ । कानुनको कडाइविना नियम पालन हुँदैन । जरिबाना प्रणालीलाई स्मार्ट र प्रभावकारी बनाएर डर कायम गर्नुपर्छ ।
१५. चाँडो र लापरबाहीपूर्वक सवारी चलाउनेहरूलाई कडा कारबाही गर्नुपर्छ ।
लापरबाही चालकहरू हर्न बढी बजाउँछन्, जथाभावी ओभरटेक गर्छन् र सडक अनुशासन भङ्ग गर्छन् । यिनीहरूलाई छिटो चिनेर कारबाही गर्नुपर्छ ।
१६. गाडी र पैदलयात्री दुवैमा धैर्य र अनुशासनको भावना विकास गर्नुपर्छ ।
सडक प्रयोग सबैको साझा अधिकार हो भन्ने सोच राख्दै सबैले अनुशासित र संयमित रहनु अत्यन्त जरुरी छ ।
१७. पैदलयात्रीलाई बाँया साइडमा हिँड्ने बानी बसाल्नुपर्छ ।
जथाभावी हिँड्दा र जथाभावी बाटो काट्दा हर्नको प्रयोग बढ्छ । बाँया साइडमा हिँड्ने अभ्यासले ट्राफिक व्यवस्थित हुन्छ र ध्वनि प्रदूषण घट्छ ।
१८. साँघुरो, भित्री र बस्तीका सडकहरूमा गति नियन्त्रण अनिवार्य बनाउने बेला आएको छ ।
कुनै ठाउँमा हर्न बजाउँदै छिटो हिँड्ने व्यवहार देखिन्छ जुन असाव्य हो । यस्ता क्षेत्रमा चालकहरूले हर्न बजाएर बाटो खाली गराउने प्रवृत्तिमा कमी ल्याउन गति सीमित गर्ने नीति लागू गर्नुपर्छ ।
निष्कर्ष
सहरी जीवनशैलीले मानिसमा अहंकार, दम्भ र तनाव बढाएको छ । प्रविधिको विकास र सवारीसाधनको वृद्धिसँगै ध्वनि प्रदूषण पनि जटिल समस्या बनेको छ र हरेक दिन चुनौती थपिँदै गएको छ । यसको समाधान एक व्यक्ति वा संस्था मात्रले गर्न सक्दैन । केवल सरकार वा ट्राफिक प्रहरीको प्रयासले पनि समस्या समाधान सम्भव छैन । यसमा हरेक नागरिकको सहभागिता अपरिहार्य छ ।
सबै नागरिक सचेत नागरिक हुन जरुरी छ । यदि हामी सबैले थोरै अनुशासन, सहनशीलता र आपसी सम्मान र सद्भाव देखायौँ भने काठमाडौंजस्ता सहरहरू पुनः शान्त, सुरक्षित र स्वस्थ बन्दै जान सक्छन् । अब हर्न नबजाउने संस्कारको विकास गरी सभ्य नागरिकको परिचय दिने समय आएको छ ।