सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्ष सुरु हुने दिन नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरू तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकारभित्र रही कार्यसम्पादन गर्न तथा चालू आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी तथा प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग आर्थिक योजनामन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारवाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नुपरेको बताए । माथिल्लो निकाय जिम्मेवार र जवाफदेही बन्दा त्यसको प्रभाव तल्लो तहसम्म जाने र त्यसले कार्यसम्पादनसँगै जवाफदेही बनाउने उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले कार्यसम्पादन सम्झौतामा उल्लेख गरेका विषयहरूलाई मन्त्रालयले वार्षिक क्यालेन्डर बनाएर लागू गर्न मन्त्रीहरूलाई निर्देशन दिए । उनले भने, ‘अहिले तपाईँसँग गरिएको कार्यसम्भौतालाई आधार बनाएर आफ्ना सचिवहरूसँग परिणाम आउने गरी कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गर्नुहोस् ।’ मुख्यमन्त्री कँडेलले नागरिकबाट समर्थन पाउने गरी आफ्ना काम कारबाही सम्पन्न गर्न पनि मन्त्रीहरूलाई निर्देशन दिए ।