काठमाडौं । अबदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि धराहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आएको थियो । यस्तै, धरहरा बिदाको दिन पनि खुला रहने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकोमा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको हो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ । ‘अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ’, मन्त्रालयका प्रवक्ता मैनालीले भने । भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार छ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ । इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ ।