वीरगञ्ज । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रबन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुरूप अबदेखि नयाँ उपभोक्ताहरूलाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकहरूलाई निःशुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, खानेपानी संस्थानका अध्यक्ष डा. ढुण्डिराज भट्टराईलगायतको सहभागीता थियो ।