काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अनुसार ‘तपाईँको एक थोपा रगतले कसैको जीवन बच्न सक्छ’ भन्ने मूल नाराका साथ रगत नपाएर छटपटिएका व्यक्तिहरूको जीवन रक्षाको लागि संस्थाको केन्द्रीय कार्यालय तनहुँको डुम्रेमा रक्तदान कार्यक्रमको आयोजना हो । कार्यक्रममा ३२ जना रक्तदाताहरूले ३२ युनिट रक्तदान गरेको संस्थाका नायब महाप्रबन्धक पवन कुमार श्रेष्ठले जानकारी दिए ।
संस्थाले नवौँ स्थापना दिवसको उपलक्ष्यमा बारा जिल्ला, बरियारपुर मुकाममा पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाका बरियारपुर मुकाम असुली तथा अनुगमन मुकाम अधिकृत बृज किशोर सहनीले जानकारी गराएका थिए । उक्त रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरूले ४१ युनिट रक्तदान गर्नु भएको थियो । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका १ डुम्रे र बारा जिल्लाको बरियापुरमा गरी संस्थाले ७३ युनिट रगत संकलन गरेको छ । यसैगरी दुधे असुली तथा अनुगमन मुकामअन्तर्गत बुधबारे शाखाले नवौँ स्थापना दिवसको अवसरमा सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले संस्थामा आबद्ध महिला सदस्यहरूलाई पञ्चे बाजा खरिदका लागिका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बुधबारे शाखाअन्तर्गत समूह नं. ५१ की जीवनकला दाहालको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का अग्रज बुद्धिजिवि समाजसेवी श्री दिल बहादुर कटुवालको प्रमुख आतिथ्य, दुधे असुली तथा अनुगमन मुकामका अनुगमन अधिकृत श्री कुशल पोख्रेरको आतिथ्यता, शाखाका शाखा प्रमुख, कर्मचारीहरू, पञ्चेबाजा बजाउने समूह नं. ५१ का महिला ग्राहक सदस्यहरू तथा अभिभावकहरू, स्थानीय बुद्धिजीवि ज्येष्ठ नागरिकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । रौतहट जिल्लास्थित सम्मनपुर शाखाले अनाथालयमा २५ जना बालबच्चाहरूलाई खाद्यान्न वितरण गरेको छ । पर्सा जिल्लास्थित बहुअरी शाखाले मन्दिरमा सिलिङ पंखा वितरण गरेको छ । नुवाकोट जिल्लास्थित छहरे शाखाले स्थानीय देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको संस्थाले जानकारी दिएको छ । संस्थाको महोत्तरी जिल्लास्थित लोहारपट्टि शाखाले ४ वटा मन्दिरमा सिलिङ पंखाहरू प्रदान गरेको छ । त्यसैगरी रौतहट जिल्लास्थित राजपुर शाखाले ४ वटा मन्दिरमा सिलिङ पंखाहरू प्रदान गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लास्थित चोरमारा शाखाले आफ्नो ग्राहक सदस्यहरूलाई फलफूलका विरुवा वितरण गरेका थिए । त्यसैगरी गोरखा जिल्लास्थित घैरुङ शाखाले ग्राहक सदस्यहरूलाई फलफूलका बिरुवाहरू वितरण गरेको छ । त्यसैगरी कपिलवस्तु जिल्लास्थित इमिलिया शाखाले ग्राहक सदस्यहरूलाई फलफूलको बिरुवा वितरण गरेको छ । धादिङ जिल्ला स्थित धादिङबेशी शाखाले स्थानीय प्रहरी चौकीमा प्रहरीहरूलाई आवश्यक सामग्री प्रदान गरेको छ । कास्की जिल्लास्थित खोलाको छेऊ शाखाले सडक किनारामा ट्राफिक सचेतना बोर्ड राखेको छ । रूपन्देही जिल्लास्थित नयाँमिल शाखाले अनाथालयमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।
यसैगरी बाँके जिल्लास्थित मदनचौक शाखाले बैजनाथपुरस्थित गाउँको स्थानीय विद्यालयमा कक्षा ४ र कक्षा ५ मा अध्ययनरत १५ जना विद्यार्थीहरूलाई स्टेशनरी तथा झोला वितरण गरेको छ । कैलाली जिल्लास्थित दुर्गौली शाखाले स्थानीय हेल्थपोष्टमा स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाको नवौँ स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाको भनाइ छ ।
तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. १ केन्द्रीय कार्यालय रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म सातवटा प्रदेशहरूका ४५ जिल्लाहरूमा एक सय ५५ वटा शाखा कार्यालय, १४ असुली तथा अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी एक सय ७१ वटा कार्यालयहरूको सञ्जालबाट पाँच सय ७४ जना कर्मचारीहरूले एक लाख ७८ हजार सात सय ७८ घरधुरीहरूमा सेवा विस्तार गरेका छन् । त्यस्तै लगानीमा रही रहेको कर्जा नौ अर्ब ९५ करोड रहेको र बचत दुई अर्ब ६६ करोड रहेको छ ।