काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले एक बराबर एक अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही असार ३१ गतेबाट सुरु भई साउन १९ गतेसम्म कायम रहने छ । हकप्रद सेयरबाट संकलित रकमबाट क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण गरिने र सोका लागि एक करोड ५८ लाख रूपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ । यसैगरी जलशक्ति हाइड्रो कम्पनीमा लगानी र अधिग्रहण गर्न ५२ करोड रूपैयाँ प्रयोग हुने कम्पनीले जनाएको छ । हकदप्रद सेयरबाट कुल ५३ करोड ५८ लाख रूपैयाँ संकलन हुनेछ ।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले केयर रेटिङ नेपालबाट बीबी संकेत पाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता चार सय २५ रूपैयाँ छ ।