काठमाडौं । आइएमई–पे र खल्ती मर्ज भएर बिहीबारबाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनीबीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा गरिएको हो ।
झन्डै एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै पहिचान बनाएका यी दुई वालेट कम्पनीले एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार सुरू गरेका छन् । आइएमई–पे रेमिट्यान्स, इनड्राइभ भुक्तानीजस्ता सेवाहरूका लागि प्रख्यात छ । खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र इनोभेसनका कारण युवापुस्तामाझ लोकप्रिय छ । डिजिटल भुक्तानीले वित्तीय पारदर्शीता बढाउने भएकाले हरेक क्षेत्रमा यसको लागू हुन जरुरी भएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।
आइएमई–पेको यात्राले समावेशी वित्तीय सेवामा गहिरो आधार निर्माण भएको आइएमई–पेका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘खल्तीसँगको एकताबाट बनेको आइएमई खल्तीले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिनेछ’, उनले भने । खल्ती र आइएमई–पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम रहेको खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले बताए ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजनबारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।