काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्र (केसीए) भित्र जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान गर्न सुरु गरेको छ ।
युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसीएएमसी) र समृद्ध पहाडसँगको सहकार्यमा ताप्लेजुङमा उक्त उपकरणहरू बिहीबारदेखि जडान गर्न सुरु गरिएको हो । यी आधुनिक उपकरणहरू जैविक विविधताको जानकारी सङ्कलनमा सुधार गर्न र वास्तविक समयको पारिस्थितिकीय अनुगमनलाई सहयोग पुर्याउन आधुनिक वैज्ञानिक विधिहरूलाई आदिवासी ज्ञानसँग एकीकृत गर्ने लक्ष्यका तापेथोक, हेलोक र लेलेपमा ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान गरिने जनाइएको छ । क्यामेरा र जीपीएस उपकरण जडान गर्नुअघि लेलेपमा दुई दिने क्षमता विकास तालिम आयोजना गरिएको थियो ।
सो कार्यशालाले केसीएभित्र स्थानीय समुदायको सहभागिता र वातावरणीय पर्यवेक्षणमा संलग्नतालाई प्रोत्साहित गर्नमा केन्द्रित थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बुले जैविक विविधताका हटस्पटहरू र संरक्षणका लागि सम्भावित पकेट क्षेत्रहरू पहिचान गर्ने आफ्नो लक्ष्य रहेको बताए ।