काठमाडौं । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रालिले नेपालभर आफ्नो सेवा औपचारिकरूपमा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँस्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ ।
स्वयम्भु ठूलोभर्याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, इटहरी र धनगढीमा शाखा कार्यालयसहित १५ स्थानबाट सेवाको सुरुवात गर्दैछ, जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्नेछ । सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरियर तथा पार्सल डेलिभरी, फ्लिट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्सलगायतका सेवा प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिङ, रियल–टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् । नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले बताए । ‘हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो’, उनले भने ।
अनुभवी व्यवस्थापन टिम जसमा १५ वर्ष ढुवानी पेशाकर्मीहरू, आईटी विज्ञ र सिएद्वारा सञ्चालन हुने सारथीले अबदेखि नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।