काठमाडौँ, आगामी तीन दिन देशभर भारी वर्षा भई नदीहरूमा पानीको सतह खतराको सीमाना पार गर्न सक्ने पूर्वानुमानपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सबै जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना उद्धृत गर्दै इप्पानले पूर्वी नेपालका कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीहरूमा ठूलो बाढीको सम्भावना रहेको जनाएको छ। साउन ३ गतेदेखि ५ गतेसम्मको अवधिमा बागमती, राप्ती, बबई र महाकाली क्षेत्र समेत जोखिममा परेका छन्।
इप्पानले निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरूलाई मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि तत्काल पूर्वतयारी अघि बढाउन भनेको छ। गत असार २४ गते भोटेकोशीमा आएको बाढीले धेरै आयोजना प्रभावित भएका घटनाको स्मरण गर्दै इप्पानले यस्ता घटनाको पुनरावृत्ति रोक्न सचेतना र सतर्कता अत्यावश्यक रहेको स्पष्ट पारेको छ।