काठमाडौं । १३५ रोपनी लिची बगैंचा हडप्ने योजनामा गरिएको भनिएको घुस डिलको अडियो सार्वजनिक भएपछि भूमि व्यवस्था मन्त्री बलराम अधिकारीमाथि छानबिन र राजीनाको माग गरिएको छ। एमाले कास्कीले शनिबार पोखरामा सम्पन्न विस्तारित बैठकमा मन्त्री अधिकारी र पूर्वमन्त्री राजकुमार गुप्ताविरुद्ध छानबिनको माग गर्दै एकमतले प्रस्ताव पारित गरेको हो। बैठकमा पोखराका विभिन्न तहका नेताहरूले भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही नगरे पार्टी बदनाम हुने बताएका थिए। अडियोमा मन्त्री अधिकारीले ३२ लाख र गुप्ताले २५ लाख घुस लिएको उल्लेख छ। बिचौलिया भनिएका सुजन लामाको पार्टी सदस्यता नवीकरण नभएको पनि खुलाइएको छ।एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारीका अनुसार सबै संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरिएको छ। पार्टी अनुशासन कायम गर्न गलतमा जो भए पनि छानबिन हुनुपर्ने सहभागीहरूको माग थियो। भेलाले पुष्पलाल स्मृति दिवसका विभिन्न कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ।