काठमाडौं । कांग्रेस–एमाले भागबण्डा (गठबन्धन) सरकारबाट ‘श्री ५’ लेख्न प्रतिबन्ध राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट आफ्नो ७९औँ वर्षगाँठ अवसरमा आयोजित ‘प्रेसमिट’मा जुन कथन (वैध्य) सार्वजनिक भएको छ, त्यो धेरै मार्मिक, चिन्ताजनक र देश, जनता, प्रणालीका लागि दुर्भाग्यपूर्ण छ । त्यहाँ राजा ज्ञानेन्द्रको कथन थियो, ‘नेपालमा जन्मेर मात्र नेपाली भइँदैन । नेपाली हुनका लागि नेपाली मन चाहिन्छ । यतिखेर नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो ।’
राजा ज्ञानेन्द्रको यो भनाइको प्रस्ट दुईटा अर्थ लाग्छ । (१) पहिलो नेपालको राष्ट्रिय राजनीति पूर्णरुपमा नेपालमा जन्मेका तर नेपाली मन नभएका विदेशी दलाल र अन्तर्राष्ट्रिय माफियाका कामदार (भरिया)हरूको चङ्गुलमा जकडिएको छ ।
(२) दोस्रो निश्चय नै राष्ट्रिय राजनीति (दलहरू र तिनका सरकार) पूर्णरुपमा विदेशी दलाल (भारत, अमेरिका, युरोपियन युनियन आदि इत्यादि) र अन्तर्राष्ट्रिय माफियाका कारिन्दा (११ हजार गुण्डाहरू एक रिपोर्ट)को चङ्गुलमा जकडिनु फस्नु भनेको नेपाल र नेपाली मन समाप्त हुनुजस्तै हो । नेपाल र नेपाली मन सकिनु भनेको धेरै ठूलो संकट दुर्भाग्यपूर्ण अध्याय हो । राजाको ‘प्रेसमिट’मा ‘प्रार्थना गर्ने समय’ भन्ने जुन भनाइ आएको छ, त्यसले नेपाल र नेपाली मन घिटीघिटी अवस्थामा आर्यघाट पुगिसकेको प्रस्ट हुन्छ । ‘प्रार्थना’को अर्को अर्थ ‘समवेदना’ पनि लाग्न सक्दछ जुन मानिस मरेपछि या मरणासन्न अवस्थामा पुगेपछि नातागोता या आफन्तजन, छिमेकी ईष्टमित्रले प्रकट गर्ने गर्दछन् ।
नेपाली मन भएका आम जागरण यतिखेर एउटा कुराले ज्यादै चिन्तित, हैरानी र दुःखी छन् । त्यस्तो चिन्ता, हैरानी र दुःख पंक्तिकारलाई पनि हुनेगरेको छ । त्यो के भने ‘पृथ्वीपथ’का इमान्दार, विज्ञ र भलादमी अभियन्ता जगमान गुरुङ, केशरबहादुर विष्ट, स्वागत नेपाल आदि एउटा ठूलो जमातका ‘फलानो मितिमा राजा ज्ञानेन्द्रले श्रीपेच लगाउने’ जस्ता हप्तैपिच्छे र महिनैपिच्छे आउनेगरेका भाषण र वक्तव्यबाजी वास्तवमै चिन्ता र हैरानीको विषय भएको छ । सामान्य राजनीतिक समझ (कखग)ले पनि उहाँहरूजस्ता महानुभावहरू छर्लङ्ग हुनुपर्ने कि जबसम्म चीन–भारत संयुक्त इशाराले (रुसको साथ त रहने नै छ) नेपाली सेना परेड (एक्सन)मा नआएसम्म सम्पूर्ण तोकिएका ‘श्रीपेच’ मितिहरू केटाकेटीले भाँडाकुटी खेलेजस्तो मात्र हुने हो । उहाँहरूजस्ता ‘पृथ्वीपथ’का घाघडान राष्ट्रिय नायकहरूलाई ‘भाँडाकुटी’ खेल्ने केटाकेटीसँग तुलना गर्ने पंक्तिकार को हो ? आम पाठकमाझ प्रश्न उठ्न सक्छ । यसमा यसै ‘आर्थिक राष्ट्रिय दैनिक’मा गत असार महिनाका पाँच आइतबारका प्रस्तुत स्तम्भ गुगलमा गएर पढ्नुभयो भने एकसरो चिनारी उपलब्ध हुनेछ ।
‘श्रीपेच’सम्बन्धी ‘पृथ्वीपथ’को लक्ष्यमा पुग्न प्रस्ट (छर्लङ्ग) मार्गचित्र (मूलबाटो) पंक्तिकारलाई दृष्टिगोचर भएको हुँदा विस्तृत रुपमा (शास्त्र, नीति, कार्यक्रम) आगामी दिनमा आउँदै गरुँला ।
‘कमरेड’बाट ‘मिस्टर’ भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसद्को चालू बैठकमा भाषण गर्दै थिए, –‘जहाँ सरकार त्यहाँ भ्रष्टाचार’ यतिखेर ‘भ्रष्टाचार’ त सामान्यीकरण भएर सर्वत्र (आम जनजागरणबाहेक) स्वीकृत भइसकेको साधारण कुरा हो । तथ्यमा मिस्टर प्रचण्डले भनेको भन्दा अझ घातक र दुर्भाग्यपूर्ण अध्याय, ‘जहाँ देश बेच्ने, मानिस बेच्ने राष्ट्रघात जनघातको अपराध हुन्छ त्यहाँ सरकार’ भन्ने नै यतिखेर आम नवजागरणमा पक्का (प्रमाणित) ठहर भइसकेको छ । र त्यस नवजागरण ठहरको पहिलो खतरनाक देउवा र ओलीपछि प्रचण्ड नै हुन् । वर्तमानको सबैभन्दा अग्लो भिलेनचाहिँ जो प्रधानमन्त्री हुन्छ त्यही हुनेगरेको देखिन्छ ।
एक जना हुनुहुन्छ डा. महेन्द्रजंग शाह, सेवाविवृत्त सैनिक जर्नेल । ‘पृथ्वीपथ’का अभियन्तामा जगमान गुरुङ, केशरबहादुर विष्ट, भरत बस्नेत आदिभन्दा माथिल्लो स्तरको राजनीतिक समझ दूरदृष्टि राख्ने प्रखर बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ । उहाँ हरेक टीभीका पर्दामा अन्तरवार्ता दिन आउँदा देउवा, ओली, प्रचण्ड आदिलाई माक्र्स, गान्धी, लेनिन, माओ, बीपी, मदन भण्डारी आदिका विचारधारामा खुलामञ्चमा सार्वजनिक शास्त्रार्थ (बहस) गर्न आउन चुनौती दिन बिर्सनु हुन्न । एउटा टीभी वार्तामा भन्दै हुनुहुन्थ्यो ‘बाख्राचोर, घडीचोर, रातो पासपोर्ट बेचुआ भनेर गुगलमा सर्च ग¥यो भने गगन थापा, रामहरि खतिवडा, धनराज गुरुङको नाम र तस्बिर देखाइदिन्छ । यी तीन व्यक्ति नेपाली कांग्रेस (आरजु)को कुन पदमा छन् र राज्यसत्ताको भागबण्डामा कुन स्तरको भागिदार हुन् भन्ने आम नवजागरण सबैलाई जानकारी छँदैछ । तर तथ्यचाहिँ बाख्रा चोर्नु, घडी चोर्नु, रातो पासपोर्ट बेच्नु, किर्ते हस्ताक्षर गर्नु (रामचन्द्र पौडेल) त सामान्य कुरा भयो । यो त उनीहरूको व्यक्तिगत राजनीतिक जीवनको कालो धब्बा (श्राप) मात्र हो । देश बेच्ने र मानिस बेच्ने को–को हुन् भनेर गुगलमा सर्च गर्ने हो भने क–कस्का नाम र तस्बिर देखा पर्लान् त्यो त अझै सर्च गरेर हेरेको छैन । तर देउवा, ओली, प्रचण्डको नाम र तस्बिर सबैभन्दा अग्रपंक्तिमा देखा पर्ने भने पक्का छ । महाकाली सन्धि (लिपुलेक, लिपियाधुरा, कालापानी नेपालको भूमि भारतको नक्साभित्र पुग्नु) देखि नक्कली भुटानी शरणार्थी, भिजिट भिसा स्पेन काण्डसम्मका सबै हर्कत कुकर्म केलाउँदा दशी साक्षीसहित सबै तथ्य प्रमाणित हुन्छ ।
पृथ्वी गोलो छ । पछाडि नफर्किई हिँडिरह्यो भने जहाँबाट हिँडेको त्यहीँ पुगिन्छ । यसैलाई ‘गोलचक्कर’ भनिन्छ र एउटा अध्याय समाप्त भएको सकिएको ठानिन्छ । यस्तै एउटा ‘गोलचक्कर’ चलिरहेको संघीय गणतन्त्रको पनि पूरा भएको दशी प्रमाण भण्डाफोर भएको छ । हालसालै ‘कुलिङ पिरियड’लाई लिएर मच्चिएको बबन्डर उल्लिखित ‘गोलचक्कर’को टड्कारो उदाहरण हो । त्यो कसरी प्रमाणित उदाहरणमा आइपुग्नुअघि अलिकति ‘कुलिङ पिरियड’बारे चर्चा गरौँ ।
सेना, सशस्त्र, प्रहरी, पुलिसलगायत निजामती सेवाका उच्चस्तरीय कर्मचारीले अवकाश पाएको दुई वर्षसम्म अन्यत्र काम गर्न नपाइने विधि विधानलाई ‘कुलिङ पिरियड’को संज्ञा दिइयो । कुरो के उठ्यो भने ‘कुलिङ पिरियड’ नरहँदा सत्ताधारी दलका नेता, मन्त्री र प्रधानमन्त्रीले जागिर सकिएलगत्तै पछि विभिन्न संवैधानिक पद, राजदूत आदि इत्यादिमा नियुक्ति दिने प्रलोभनमा पारेर राष्ट्रिय अर्थतन्त्र कर प्रणाली आदि (असारे विकास)मा लुटतन्त्र मच्चाउन सजिलो पारे । परिणाम मन्त्रीपदको शपथ खान साथीको कोट मागेर गएको नेता (चिरञ्जीवी वाग्ले, रामचन्द्र पौडेल, विपिन कोइराला आदि पंक्तिकारले प्रत्यक्ष देखे÷भेटेको) मन्त्री भएको छ महिना–वर्ष दिनमा राजधानीमा तारे होटल शैलीका महल र विदेशमा नाफाका व्यापारको मालिक भएका भेटिए । उल्लेखनीय उदाहरणका लागि छैटौँ पटक प्रधानमन्त्रीको प्रतीक्षामा रहेका शेरबहादुर देउवाकै नाम लिऔँ ।
शेरबहादुर देउवाले पंक्तिकारको जीवन बचाउन एउटा गुन पनि लगाएका छन् । दुर्गा पोखरेल (जो पछि राजा ज्ञानेन्द्रको मन्त्री पनि भइन्) एमेनस्टी इन्टरनेसनल नेपाल शाखाको प्रमुख थिइन् । शेरबहादुर देउवालाई साथमा लिएर वीरगञ्ज जेलमा आइन् र जेलवासको मेरो तस्बिर एमेनेस्टीको जर्नलमा प्रकाशन गरिन् । ‘त्यसै कारण एउटै पृष्ठभूमि र मुद्दाका नक्खुको ओरालोमा मारिएका चार ‘सहिद’मा मैले ‘पाँचौँ सहिद’ हुन पाइनँ । यसैलाई मैले शेरबहादुर देउवाको गुन भनेको हुँ’, । उनी पञ्चायतकालमा कांग्रेस नेता भएर मैतीदेवीतिर भाडामा बस्दाका अवस्थाका बारेमा त एक भलादमी कांग्रेसी यतातिर ‘पृथ्वीपथ’मा जुटेर दुर्गा प्रसाईँको अभियानमा सामाजिक सञ्जालमा भाइरल व्यक्तित्व खेमराज सेढाईँले सबै बताइसकेकै छन् । त्यसैताका मैतीदेवीबाट पुतलीसडक डेरा सरेका बखत पंक्तिकार नियमितजस्तो भेट्न जान्थ्यो र निकटको शर्मा भोजनालयमा उधारो छाक टारिन्थ्यो । त्यो अनुभव बिर्सने कुरै भएन । जति पटक सांसद, मन्त्री, प्रधानमन्त्री भए पनि कर्मचारीतन्त्रले साथ नदिएको भए यतिखेर देउवाको जुन आर्थिक हैसियत भण्डाफोर छ, त्यो कुनै पनि हालतमा सम्भव हुन्न थियो ।
प्रतीक उदाहरणका रुपमा यहाँ केही कांग्रेसी नेताहरूको जुन नाम आयो त्यो कुनै आग्रह पूर्वाग्रहले नभएर समकालीन र सहयात्री कांग्रेसी भएका नाताले साक्षात्कार साक्षी मात्र भएको हुँ । समग्रमा सम्पूर्ण सत्ताधारी भएका दलहरू, तिनका नेतृत्वका परिवार वृत्त र कमाराकमारीको लुटतन्त्रको स्वरुप र चरित्र यही हो । परिणाम आज मुलुक राजनीतिकरुपले मात्र होइन, आर्थिकरुपले पनि दयनीय अवस्थामा पुगेको चीन–भारतलगायत सारा विश्वले थाहा पाइसकेर ‘ग्रे–लिस्ट’बाट ‘बल्याक–लिस्ट’मा पुग्न लागेको हो । अमेरिका स्पेनलगायत सारा युरोपियन मुलुकले नेपाललाई मानव तस्करी, सुन तस्करी, माफिया केन्द्र, आतङ्कवाद आश्रय (पाकिस्तान) मुलुकका रुपमा चिनारी भइरहेको अभिलेख भएकै छ । यसै तथ्यलाई राजा ज्ञानेन्द्रको प्रार्थना (समवेदना) शैलीमा अनुभूत गरेर ‘नेताका सात पुस्तालाई नेपाल आमाको श्राप’ ठहरमा पुगेको हुँ । वैदिक साहित्यमा ‘पाप’को ‘श्राप’ र ‘धर्म’को ‘आशीर्वाद’ अनिवार्य भन्ने उल्लेख भएको पाइन्छ । हुन पनि हो यतिखेर देउवा, ओली, प्रचण्डजस्ता नेताहरूलाई सपनामा १७ हजारभन्दा बढी प्रेतात्माहरूले कपाल लुछिरहने र विपनामा तीन करोड नेपालीले धारेहात लगाएर सरापिरहने सर्वत्र जगजाहेर नै छ ।
अब आऔँ ‘कुलिङ पिरियड’ बबन्डर अध्यायबाट वर्तमान संविधानको एउटा ‘गोलचक्कर’ (समाप्त हुने/सकिने) पूरा भएको प्रसङ्गमा । जस्ता प्रकारले ‘कुलिङ पिरियड’ राख्ने भनेर संसद्बाट विधेयक पास गरेका झुक्काएर नराख्ने भन्ने नै पास भएछ । यस्तै प्रकरण संविधान जारी हुँदा ‘धर्मनिरपेक्षता’ घुसेकोमा भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भनेका ‘धर्मनिरपेक्षता घुसेको आफूलाई थाहै नभएको’ आज आएर ‘कुलिङ पिरियड’ सन्दर्भमा सामाजिक सञ्जालमा पाठ्यक्रम भाइरल भएकोलाई नै मैले एउटा गोलचक्कर पूरा भएको भनेको हुँ । त्यसबखत अमेरिका युरोपियन युनियनको लगानीमा झुक्याउने कांग्रेसतर्फका गृहमन्त्री कृष्णप्रसाद सिटौला चिनारी भएका थिए भने यस पटक ओली देउवा इशारामा कांग्रेसतर्फकै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा चिनारी भएका छन् । मूल कुरा चिनारी भएका नामहरू गौण कुरा हो । मुख्य विषय सिक्किमलाई जस्तै संसद्को बहुमतले नेपाललाई भारतमा पुर्याउने दीर्घकालीन योजना (षड्यन्त्र) त होइन ? भन्ने हो । राप्रपाले जनमत संग्रहको कुरा गर्नु र ४० लाख भारतीय नागरिकलाई नेपाली नागरिकता दिने सर्तमा राष्ट्रपति भएका रामचन्द्र पौडेललाई पूर्वराष्ट्रपति विद्यादेवीको हस्ताक्षरमाथि किर्ते हस्ताक्षरको अदालतमा मुद्दा पर्नु एक सिक्काको दुई पाटा त होइन ? अस्तु ।