काठमाडौ । मधेश प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरेका प्रदेशका आठ जिल्लामा संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमगन टोली परिचालन गरेको छ ।
मधेश प्रदेशका आठ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेश प्रदेशका आठ वटै जिल्लामा टोली पठाउने भएको छ । हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने मन्त्रालयको निर्णयअनुरूप टोली आइतबार सो क्षेत्रमा पुग्नेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले शुक्रबार मन्त्रालय र मातहतका कर्मचारीहरूसँग छलफल गरी तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिएका थिए । मन्त्री अधिकारीको निर्देशनअनुसार प्रत्येक जिल्लामा केन्द्रबाट दुई/दुई जनाको दरले टोली पठाउने निर्णय भएको हो ।
टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालयअन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरूसँग पनि समन्वय गर्नेछ । मधेश प्रदेश सरकारले लामो समय सो क्षेत्रमा पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिनअघि सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । हाल रहेका सिँचाइका संरचनाहरूलाई पूर्णरूपमा सञ्चालन गरी, सिँचाइका लागि अन्य विकल्पहरू के–के हुन सक्छन् ? सम्बन्धित निकायहरूसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिए । मधेशका आठ जिल्लामा हालसम्म करिब ४६ प्रतिशत रोपाइँ सम्पन्न भएको मधेश प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।