काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्रीले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन सामाजिक सञ्जालमा अनुरोध गरेका हुन् ।
“शुभ बिहानी १ मौसम विज्ञान विभागले आइतबार दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।