काठमाडौं । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा खर्च गर्ने भएको छ । बोर्डले चालू आर्थिक वर्षका लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । सो बजेटको ७० प्रतिशत हिस्सा भने विदेशी मुलुकमा नेपालको पर्यटन प्रवद्र्धन गर्न खर्च गरिने भएको हो । बोर्डको बोर्डको कार्यकारी समितिको गत असार ३१ बसेको बैठकले चालू आर्थिक वर्षको स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डारीले जानकारी दिए । बोर्डले चालू आर्थिक वर्षमा नेपालमा पर्यटक आगमन कम्तीमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने र पर्यटन क्षेत्रको दिगो विकासका लागि यस वर्षको बजेट केन्द्रित भएको बताए । त्यसैगरी, चालू आर्थिक वर्षमा नेपाल आसियन पर्यटन वर्ष २०२६ को रूपमा प्रवर्द्ध न गर्ने बोर्डको तयारी छ । बोर्डले चालू आर्थिक वर्षमा कम्तीमा ५० वटा स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप पाँच हजार जनशक्ति उत्पादन गर्ने र पर्यटनको विस्तारीकरणका लागि कम्तीमा २५ वटा नयाँ पर्यटनको पूर्वाधार संरक्षण गर्न भएको छ ।
यसैगरी बोर्डले भारतमा कार्यालय खोल्ने भएको छ । भारत नेपालको प्रमुख पर्यटक स्रोत बजार हो, जहाँबाट सन् २०२४ मा मात्र चार लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । यसका साथै प्रादेशिक कार्यालयहरू पनि स्थापना गर्ने बोर्डको तयारी छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनका लागि ४३ करोड ६१ लाख विनियोजन गरेको छ । त्यसैगरी जनसम्पर्क तथा प्रचार–प्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि दुई करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधन विकासका लागि १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ ।
त्यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि ११ करोड ६६ लाख विनियोजन गरिएको छ । यस्तै, विशेष प्रवद्र्धनात्मक कार्यक्रमहरू बुद्धिस्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम मार्टका लागि चार करोड ६२ लाख विनियोजन गरिएको बोर्डले जनाएको छ । बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अस्ट्रेलिया, बङ्गलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड र युरोपका विभिन्न देशहरूमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।