काठमाडौं । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण सेयर खरिद गरी प्रभु हेलिकप्टरका नाममा सञ्चालनमा ल्याएको थियो ।
प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाएका छन् । ‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ’, उनले भने । प्रभु हेलिकप्टरले विशेषगरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।
कम्पनीले हाल पोखरा, काठमाडौं र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै, सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ । सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भयो थियो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा पनि उपलब्ध छ ।
आईपीओ जारी गर्दै
प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीका अनुसार आईपीओ जारी गर्नका लागि आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।