काठमाडौं । एमालेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी मुख्यालय च्यासल पुगेकी छन्। शनिबारमात्र सम्पन्न पोलिटब्युरो बैठकले उनको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा राख्ने निर्णय गरेपछि विद्या सक्रिय भएर ओलीसँग प्रत्यक्ष भेटमा पुगेकी हुन्। राष्ट्रपतिबाट अवकाश लिएपछि पहिलोपटक पार्टी कार्यालय पुगेकी विद्याले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने संकेत दिँदै च्यासलमै ओलीलाई सन्देश दिएकी छन् ।
ओलीले भने ७० वर्षे उमेर सीमा र दुई कार्यकालको बाध्यता हटाएर आफूलाई लागि अनुकूल वातावरण तयार गर्दै नेतृत्व दोहोर्याउने रणनीति बनाउँदै आएका छन्। यस्तैमा विद्याको सक्रियता र आजको भेटले एमाले नेतृत्वमा ओली–विद्या प्रतिस्पर्धा चर्किँदै गएको स्पष्ट संकेत दिएको छ। अब सोमबार बस्ने केन्द्रीय समिति बैठकमा विद्याको सदस्यता टुंगो लाग्नेछ भने नेतृत्वको लडाइँ औपचारिक चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ।