काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गर्ने निर्णयप्रति पार्टीभित्रै असन्तोष चुलिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्रीद्वय डा. धवल शम्सेर राणा तथा कुन्ती कुमारी शाहीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै गिरीमाथिको कारबाही फिर्ता गर्न र पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गरेका छन्।
उनीहरूका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उक्त निर्णय विधानविपरीत, हठात् र प्रजातान्त्रिक मूल्य विपरीत भएको हो।“स्पष्टिकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा गर्दै गरिएको कारबाहीले पार्टीको प्रजातान्त्रिक छविमा आँच पुर्याएको छ,” विज्ञप्तिमा भनिएको छ। उनीहरूले पार्टी नेतृत्वलाई नेता–कार्यकर्ताको भावना बुझ्न र निर्णय सच्चाउन ध्यानाकर्षण गराएका छन्।यसअघि शनिबार पनि पार्टीका १६ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूले गिरीको पक्षमा बोल्दै अध्यक्ष लिङ्देनको निर्णयको विरोधमा विज्ञप्ति निकालेका थिए। गिरीमाथिको कारबाही र त्यसप्रतिको व्यापक असहमतिले राप्रपाभित्र आन्तरिक कलह सतहमा आएको स्पष्ट संकेत दिएको छ।