विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले फैसला कार्यान्वयनमा सक्रियता देखाएसँगै तीन हजार पाँच १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले पीडितलाई न्याय दिलाउन, पीडकलाई कानुनी दयारामा ल्याउन एक विशेष अभियान सञ्चालन गरेर आर्थिक वर्ष २०८१/८२ मा सो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीका अनुसार झापामा पाँच सय ३४, मोरङमा एक हजार एक सय ५६, सुनसरीमा एक हजार दुई, इलाममा एक सय ४६, पाँचथरमा ४२, ताप्लेजुङमा ४८, धनकुटामा ५७, तेह्रथुममा ४५, भोजपुरमा ४४ र संखुवासभामा २८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । यस्तै, उदयपुरमा दुई सय ६०, ओखलढुंगामा ६९, सोलुखुम्बुमा १४, खोटाङमा ४५ र प्रादेशिक अनुसन्धान समूहबाट १३ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । पक्राउ परेका उनीहरूबाट १४ करोड ९६ लाख बढी राजस्व संकलन गरेको छ ।
पक्राउ पर्नेहरूमा १० वर्ष सजाय तोकिएर ४५ वर्षदेखि फरार भएका व्यक्ति समेत रहेका छन् । अब अपराध गरेर लुकेर छिपेर बस्ने अवस्था नरहेको भन्दै प्रहरी नायब महानिरीक्षक कार्कीले प्रहरीले देशबाट वा विदेशबाट होस् पक्राउ गरेरै छाड्ने बताए । केही समयअघि मात्र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमरियाका अनुसार फैसला कार्यान्वयन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टिम नै गठन गरिएको छ । सो टिमले फरार अभियुक्तहरूको खोजतलास गरेर पक्राउ गरी सम्बन्धित न्यायिक निकायमा बुझाइ कैद र जरिवाना असुल गराउने गरेको उनले बताए ।