काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमा जुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई शुक्रबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा तीन लाख ५० हजार रूपैयाँ जरिबाना, तीन दिन कैद र क्षतिपूर्तिबापत १६ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी उनलाई प्रहरीले काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।