काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच एक–आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको छ । आइतबार पोखराको होटल ल्याण्डमार्क लेकसाइड पोखरामा समृद्धि र पोखराबीच एक–आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हो ।
सम्झौताअनुसार मर्जरको लागि समृद्धि फाइनान्सको एक सेयर बराबर पोखरा फाइनान्स लिमिटेडको एक सेयरको स्वाप अनुपात, मर्जरपश्चात् संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड कायम रहने, वित्तीय संस्थाको अध्यक्ष समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट रहने एवं सञ्चालक समितिमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट अध्यक्षसहित चार जना र पोखरा फाइनान्सबाट तीन जना रहनेछन् ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहने गरी दुई संस्थाबीच एक–आपसमा गाभ्ने गाभिने (मर्जर)मा सहमत भई समझदारीपत्रमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडक तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्स लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक तिल बहादुर गुरुङले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन । यो समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने अपेक्षा राखिएको छ । बैंक तथा वित्तीय संस्थालाई एक–आपसमा गाभ्न गाभिन प्रोत्साहित गर्ने केन्द्रीय बैंकको नीतिगत ब्यवस्थालाई दुई वित्तीय संस्थाको गाभ्ने गाभिने (मर्जरमा) सहभागी हुने निर्णयले थप बल पुगेको महसुस गरिन्छ । साथै दुई वित्तीय संस्थाको संस्थापक सेयर होल्डरहरु, साधारण शेयरधनीहरुको सुरक्षा, हित र समग्र मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।