काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्यूनीकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको ‘ग्रीन फाइनान्सिङ’ लाई कार्यन्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहकमाझ ल्याएको छ ।
जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदूषणको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो । उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ‘ग्रीन फाइनान्सिङ’का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना ग्राहकमाझ ल्याएको हो ।
उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्यासोनोमी, २०२४’ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पु¥याउन पुग्दछन् । त्यसका लागि बेष्ट फाइनान्सले हरेक ग्राहकका तर्फबाट एकवटा बिरुवा रोपिदिने व्यवस्था मिलाएको छ । स्थानीय निकायहरुसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने तथा उक्त बिरुवा रोपेर हुर्काउने र पाँच वर्षपछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी समेत गरेको छ ।
उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौं)को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रमअन्तर्गत गोदावरी नगरपालिका वडा नं. १ स्थित बेष्ट फाइनान्स र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौरस्थित खाली जग्गामा पाच सय थान बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।
उक्त वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं. १ का अध्यक्ष श्री श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्राडा रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारीहरु, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डेलगायत लायन्सका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।