काठमाडौं । स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी सत्यदीप इन्टरनेसनलले विश्वव्यापी ख्यातिप्राप्त संस्था टेमोट इन्टरनेसनल अटो पार्ट्स जीएमबीएचको एसोसिएट सदस्यता प्राप्त गरेको छ । यो उपलब्धिलाई नेपाली अटोमोटिभ आफ्टर मार्केटमा अन्तर्राष्ट्रिय मान्यताको प्रतीकका रूपमा लिइएको छ ।
कम्पनीका अनुसार नेपालबाट पहिलोपटक सत्यदीपले यो सफलता प्राप्त गरेको हो । टेमोट इन्टरनेसनल अटो पार्ट्स जीएमबीएच सन् १९९४ मा पाँच युरोपेली कम्पनीहरूको सहकार्यबाट स्थापना भएको हो । हाल यसको मुख्यालय डसेलडोर्फ, जर्मनीमा अवस्थित छ । यो संस्था विश्वका एक सय छभन्दा बढी मुलुकमा फैलिएको छ, जहाँ एक सय १४ वेयरहाउस डिस्ट्रिब्युटर्स संस्थापक सदस्यका रूपमा आबद्ध छन् । सत्यदीप इन्टरनेसनलको यो सदस्यता टेमोटको आफ्टर मार्केट डिस्टिब्युटर्स नेटवर्कमा प्रवेश हो, जसले अटो पार्ट्सको आपूर्ति, सर्भिस, मर्मत तथा ग्राहक सेवामा अन्तर्राष्ट्रियस्तरको मापदण्ड कायम गर्न मद्दत पुर्याउनेछ । यस नेटवर्कको हिस्सा हुनु नेपालकै अटो उद्योगको विश्वसनीयता र क्षमताको प्रमाण रहेको सत्यदीपका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्र बताउँछन् ।
‘यो उपलब्धिलाई कम्पनीको दूरदृष्टि, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहकप्रतिको समर्पणको फल मानेका छौँ,’ उनले भने, ‘हाम्रो टोली, साझेदार र ग्राहकहरूको निरन्तर सहयोगले आजको यो सफलताको ढोका खोलिदिएको हो । अब हामी अझै व्यापक अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजानेछौँ ।’ सत्यदिप इन्टरनेसनलले हाल विश्व प्रख्यात वोस कम्पनीका आफ्टर मार्केट स्पेयर पाटर््स, केज र केमल ब्रान्डका ब्याट्री, हेला लाइटिङ, टाटा स्टिल, जेडएफ स्टेयरिङ गियर, सेलर, फेडरल मुगल गोएज इन्डिया, कम्पो, सान्दार, डीआईडी, रेम्सोन, एएक्सटीजी बेरिङ र फेइमलगायत दर्जनौ ब्रान्डका स्पेयर पार्ट्स आयात गरी बिक्री गर्दै आएको छ ।