काठमाडौं । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्यामा दोब्बर वृद्धि भएको छ । साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला गरिएको छ । समय थप भएपछि धरहरा हेर्न आउनेहरूको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
‘बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । बिहान साढे ८ देखि बेलुकी ८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राईले भने, ‘समय थप हुँदा निकै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरूको संख्या विगतमा भन्दा धेरैले वृद्धि भएको छ ।’ पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो ।
पहिला दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेकोमा अहिले दैनिक तीन हजार पाँच सय बढीले अवलोकन गरेका छन् । पछिल्लो तीन दिनमा मात्रै आठ हजार छ सय ३८ जनाले धराहराको अवलोकन गरेको इकाई प्रमुख राइले बताए । साथै, तीन दिनमा १५ लाख ५६ हजार छ सय ५० रुपैयाँ संकलन भएको छ । धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसोभन्दा बेलुका रमाइलो लागेको बताइन् । ‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ । बिहान, दिउँसोभन्दा बेलुकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो अनुभव सुनाइन् । २०८१ मंसिरदेखि २०८२ असार मसान्तसम्ममा पाँच करोड १२ लाख ६२ हजार नौ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरूबाट संकलन भएको छ ।
झापाको दमक बिजनेस कम्प्लेक्स अवलोकन गर्ने दैनिक चार सय बढी पुगे
झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरूको संख्या बढिरहेको छ । साउन १ गते चार सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा दुई गते तीन सय ८१ र ३ गते तीन सय ८१ जनाले अवलोकन गरेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए । बिहान १० देखि बेलुकी ५ बजेसम्म कम्प्लेक्स खुला गरिएको छ भने प्रतिव्यक्ति प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
सहरी विकास मन्त्रालयले साउन १ बाट अहिले परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो यो कप्लेक्स १८औँ तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।