ढाका , बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रमा आज (सोमबार) भयावह विमान दुर्घटना भएको छ। बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन्। घटनास्थलमा ९ वटा युनिट र ६ वटा एम्बुलेन्स परिचालन गरिएको छ। उद्धार कार्य अहिलेसम्म पनि जारी रहेको छ। दुर्घटनामा महिला र बालबालिका समेत गरी ५० जना भन्दा बढी घाइते भएको पुष्टि गरिएको छ। तीमध्ये धेरैजसो माइलस्टोन स्कुल एण्ड कलेजका विद्यार्थीहरू रहेको बताइएको छ। घाइतेहरुलाई नेशनल बर्न एण्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट र ढाका मेडिकल कलेज अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, दिउँसो करिब १ बजे विमान दुर्घटना हुँदा ठूलो विस्फोटसँगै विद्यालयको भवनमा आगलागी भएको थियो। आगोका कारण भवनमा रहेका विद्यार्थीहरू जलेर घाइते भएका थिए। सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी गरेको छ भने दुर्घटनाप्रति देशव्यापी शोक व्यक्त गरिएको छ।