जनकपुर — धनुषाको जनकपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरीलाई १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित किशोरी नागरिकता सिफारिस लिन जाँदा दुर्व्यवहारमा परेकी हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरुणबहादुर सिंहका अनुसार, किशोरीको जाहेरीका आधारमा गत बिहीबार वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको हो। उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान जारी छ।
कक्षा १२ को परीक्षा सकेर बसेकी पीडित किशोरी आफ्नी आमासँग नागरिकता सिफारिसका लागि वडा कार्यालय गएकी थिइन्। बसाइँसराइको कागजात नपुगेपछि वडाध्यक्षले अर्को दिन पुनः आउन भनेका थिए। बिहीबार बिहान उनीहरू वडा कार्यालय पुग्दा वडाध्यक्षले सचिवलाई कागजात लिन बाहिर पठाई किशोरीलाई आफ्नो घरमा बोलाएका थिए। घरमा पुग्नेबित्तिकै उनले कागजातको बहानामा किशोरीलाई जबर्जस्ती गोप्य अंगहरूमा दुर्व्यवहार गरेका थिए।
दुर्व्यवहारपछि भागेकी किशोरीले आफ्ना दाजुलाई फोन गरेकी थिइन्। जब किशोरी पुनः दाजुहरूको आग्रहमा वडाध्यक्षको घर पुगिन्, दाजुहरू बाहिरैबाट निगरानीमा थिए। वडाध्यक्षले फेरि दुर्व्यवहार गर्न खोजेपछि किशोरीले चिच्याएकी थिइन्। त्यसपछि दाजुहरूले वडाध्यक्षलाई समातेर प्रहरीमा बुझाएका थिए।