नवलपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तारको म्याद फेरि एक वर्ष थपिने भएको छ। सडक विभाग आयोजना निर्देशनालय (ADB) का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गर्न माग गरेको म्यादमध्ये एक वर्ष थप्दा ९० प्रतिशत काम सक्ने सहमति भएपछि म्याद थप्ने तयारी गरिएको हो।यो तेस्रोपटक म्याद थप हुने तयारी हो। हाल कार्यान्वयनमा रहेको म्याद साउन ८ गते सकिँदैछ। हालसम्म पूर्वी खण्डको भौतिक प्रगति ६९.३ प्रतिशत पुगेको जानकारी निर्देशक ढकालले दिए । पूर्वी खण्डअन्तर्गत गैँडाकोट–दाउन्ने खण्डमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड ले काम गरिरहेको छ। सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने क्षेत्रमा सडकका कारण यात्रु प्रभावित भएकाले त्यहाँ जनशक्ति केन्द्रित गर्दै ढलानको काम भइरहेको छ। त्यस्तै चोरमारा, डण्डा, जयश्री खोला, बेल्डिहा खोला र गैँडाकोटको पुलचोक क्षेत्रमा पुल निर्माण, कालोपत्र, चार लेन निर्माण तथा डिभाइडर जस्ता काम तीव्र रूपमा अघि बढिरहेका छन्।यस खण्डमा साना पुलहरूको निर्माण सम्पन्न भई सवारी सञ्चालन भइसकेको छ भने ठूला पुलहरू निर्माणाधीन छन्। डण्डाको सुक्खा खोलामा निर्माण सम्पन्न भए पनि एप्रोच रोड अभावमा पुल सञ्चालनमा आउन नसकेको अधिकारी खनालले जानकारी दिए । सडक विस्तारका लागि हाल दुई सय ७२ जना श्रमिक परिचालन भएका छन्। चोरमारा र दुम्कीबासदेखि दाउन्नेसम्म करिब ७ किलोमिटर सडकमा कालोपत्र गर्न बाँकी छ। हालसम्म पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्र भइसकेको छ। २०७५ साल माघ २४ गतेदेखि सुरु गरिएको यस आयोजनाको प्रारम्भिक म्याद ४२ महिना थियो। तर निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटक म्याद थप भइसकेको छ। आयोजनाले अब थपिने एक वर्षलाई अन्तिम म्यादका रूपमा लिएको छ। यो योजना दुई खण्डमा विभाजन गरिएको छ। गैँडाकोट–दाउन्ने पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्ने–बुटवल पश्चिम खण्ड (४९ किलोमिटर) गरी कुल लम्बाइ ११४ किलोमिटर छ। परियोजनाको लागत विवरण यस्तो छ: पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने): रु ९ अर्ब १३ करोड १८ लाख ९५ हजार पश्चिम खण्ड (दाउन्ने–बुटवल): रु ७ अर्ब ८६ करोड ३४ लाख कुल लागत: रु १६ अर्ब ९९ करोड ५२ लाख यो परियोजना एशियाली विकास बैंक (ADB) को ८५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५ प्रतिशत लागत साझेदारीमा अघि बढाइएको हो। निर्देशक ढकालका अनुसार हालको म्याद थपपछि पूर्वी खण्डको मुख्य काम सम्पन्न गरिनेछ र अब म्याद थप नहुने सुनिश्चित गरिनेछ। योजना पूरा भएपछि यो खण्डमा यात्रा सहज, सुरक्षित र छरितो हुने अपेक्षा गरिएको छ।