दोलखा । जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय संकटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा बढ्दो रोग प्रकोपले भटाभट चौँरी मर्न थालेपछि व्यवसाय नै संकटमा पर्न थालेको कालिञ्चोक गाउँपालिकाका स्थानीय चौँरीपालक किसान लालबीर थामीले बताए ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर–५ का स्थानीय थामीले गत वर्षदेखि व्यावसायिकरूपमा चौँरीपालन सुरु गरेका हुन् । लाखौँ लगानी गरेर चौँरीपालन व्यवसाय सुरु गरेका उनले व्यवसाय सुरु गरेको वर्ष दिन नपुग्दै चार लाख रुपैयाँ तिरेर किनेका चार वटा चौँरी मरेको गुनासो गरे । विभिन्न रोग लागेर तथा चरन क्षेत्र अभावमा भटाभट चौँरी मर्न थालेपछि व्यवसाय नै डुब्ने हो कि भन्ने चिन्तामा रहेकोे उनले सुनाए । थामीको गोठमा अहिले ३२ वटा चौरी रहेका छन् ।
थामीसहित कालिञ्चोकमा वडा नम्बर–१ र ५ का ८ जना किसानले चौँरीपालन गर्दै आएका छन् । कालिञ्चोक गाउँपालिका–१ का दुई गोठ र वडा नम्बर–५ का ६ वटा गोठमा तीन सय चौरी रहेका छन् । एक वर्षको अवधिमा १६ वटा चौरी मरेको कृषक लालबीर थामीले सुनाए । थामी यसअघि लापिलाङमा पशुपालनमै थिए । उनले गाउँपालिकाले व्यावसायिक चौँरीपालन गर्न अनुदान दिने भनेपछि सुरुमा उनले १६ वटा चौँरी खरिद गरेर व्यवसायमा जोडिएको उल्लेख गरे । उक्त व्यवसाय सुरु गर्न थामीले गाउँकै सहकारीबाट १६ लाख ऋण लिएका थिए । पछि थप चौँरीपालन विस्तारका लागि पाँच लाख पालिकाले अनुदान दिएर अहिले २१ लाख लगानीमा ३२ वटा चौँरी पालिरहेको उनले बताए ।
चरन क्षेत्रको समस्या
चौँरीका लागि खुला चरन क्षेत्र आवश्यक पर्ने भए पनि घाँसे मैदान मासिँदै जाँदा पेसा पनि संकटमा परेको उनको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाउने हुँदा व्यवसायलाई प्रत्यक्ष असर परेको थामीले दुखेसो गरे । चौँरीलाई चरनका लागि प्रशस्त घाँसे मैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै उनको भनाइ छ ।
लेकका खुला तथा समथर भू–भागमा हुर्किरहेका बोटबिरुवा र बुट्यानले सिङ्गो चरण क्षेत्रलाई प्रभाव पार्ने गरेको छ । चरण अभावमा चौँरी चराउन विभिन्न ठाउँमा पुर्याउनुपर्ने समस्या रहेको उनले बताए । चरन क्षेत्र खोज्दै अन्यत्र लगिएपछि धेरै चौँरी रोगको शिकार हुन पुगेको किसानहरू बताउँछन् । अहिले चरन क्षेत्र अभावले दूध उत्पादन पनि धेरै घटेको किसानहरूको दुखेसो छ ।