काठमाडौं . काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा ठमेलस्थित एक होटलबाट दुई चिनियाँ नागरिकलाई दुई किलो सुन र २४ लाख नगदसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो मात्रामा सुन र नगद फेला परेपछि थप अनुसन्धान भइरहेको छ।
“ठमेलको एक होटलमा विशेष सूचनाको आधारमा अपरेसन चलाइएका बेला उनीहरूको साथबाट उक्त सुन र नगद बरामद गरिएको हो,” आचार्यले बताए, “घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्नेबारे अनुसन्धान जारी छ।”यता, वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा दुई नेपाली नागरिकलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ परेकामा गोरखा बारपाक सुलिकोट–४ की २९ वर्षीया जुनु रानाथापा मगर र बर्दिया गुलरिया–२ का ३३ वर्षीय सुदीपकुमार यादव रहेका छन्।सूचना अधिकारी आचार्यका अनुसार जुनुले स्लोभाकिया पठाइदिने भन्दै एक व्यक्तिबाट ३ लाख १० हजार र यादवले सर्बिया पठाइदिने भन्दै १८ लाख ५४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ।दुवै घटनालाई गम्भीर अपराधका रूपमा लिँदै प्रहरीले तथ्यांक संकलन, स्रोत पत्ता लगाउने, र संगठित आपराधिक गिरोहको खोजीमा अनुसन्धान तीव्र बनाएको जनाएको छ।