काठमाडौं । मेटलाइफ नेपालले जीवन बीमा र क्रिकेटजस्ता दुई शक्तिशाली क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको छ । यस सहकार्यको उद्देश्य बीमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवर्द्धन गर्नु हो ।
नेपालमा पहिलो पटक, दुवै टिमका कप्तानहरू जो साहस, आशा र राष्ट्रिय गौरवका प्रतीक हुन्—अब भविष्य सुरक्षित गर्ने महत्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडि छन् । यो अनौठो साझेदारी साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाको रूपमा प्रस्तुत गरिएको छ । मेटलाइफले राष्ट्रिय क्रिकेट टोलीहरूलाई बीमा कभरेजमार्फत प्रायोजन पनि गरेको छ र राष्ट्रलाई प्रेरणा दिने व्यक्तिहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको छ ।
‘हाम्रा राष्ट्रिय टोलीका कप्तानहरू हरेक पटक मैदानमा उत्रिँदा सम्पूर्ण राष्ट्रको आशा बोकिरहेका हुन्छन् र त्यसैले जिम्मेवारी र सुरक्षाको महत्व बुझाउन उनीहरूभन्दा उपयुक्त व्यक्ति को हुन सक्छन् ? सम्पूर्ण नेपालीहरूको परिवार र भविष्यको सुरक्षासम्बन्धी हाम्रो सन्देश रोहित र इन्दुको माध्यमबाट फैलाउन पाउँदा हामी उत्साहित छौँ’, मेटलाइफ नेपालका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारीले भने ।