बर्लिन । संयुक्त राज्य अमेरिकाले एक महिनाअघि इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि पहिलो पटक शुक्रबार इस्तानबुलमा युरोपेली शक्तिहरूसँग नयाँ वार्ता हुने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इरानले तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्ताको टेबुलमा नफर्किएमा इरानमाथि पुनः प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएपछि इरानी कूटनीतिज्ञहरूले बेलायत, फ्रान्स र जर्मनीका समकक्षीसँग भेट्ने भएका हुन् ।
पश्चिमा मुलुक र इजरायलले लामो समयदेखि इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले सोमबार भनेको छ, ‘युरोपेली मुलुकहरूको अनुरोधको जवाफमा इरान नयाँ चरणको वार्ता गर्न सहमत भएको छ ।’ वार्ताको विषय इरानको आणविक कार्यक्रम हुने बताइएको छ ।
जर्मनीको एक कूटनीतिक स्रोतले आइतबार एएफपीलाई बताएअनुसार इ–थ्री तेहरानसँग सम्पर्कमा रहेको र इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न दिनेमा दृढ रहेको छ ।
‘त्यसैले जर्मनी, फ्रान्स र बेलायतले इरानी आणविक कार्यक्रमको दिगो र प्रमाणीकरण योग्य कूटनीतिक समाधान खोज्न इ–३ ढाँचामा सघनरूपमा काम गरिरहेका छन्’, स्रोतले भन्यो । इजरायलले गत जुन १३ मा प्रमुख सैन्य र आणविक केन्द्रहरूलाई लक्षित गरी आफ्नो क्षेत्रीय शत्रुहरूमाथि आश्चर्यजनक आक्रमणको श्रृंखला सुरु गरेको थियो ।
संयुक्त राज्य अमेरिकाले गत जुन २२ मा तेहरानको दक्षिणमा कोम प्रान्तको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्र र इस्फाहान र नातान्जमा रहेको आणविक स्थलमा आक्रमण गरेको थियो ।